Breaking News

दिनेश र सन्तोषको धर्ती नै डगमगाउने प्राण हवन

Share

kastamandap-air-crash-

 

कतिपय मान्छेको मरणले बाँकी बाँचेका मान्छेलाई जिम्मेवारीको

यज्ञ दाहाल , वन विज्ञ
यज्ञ दाहाल , वन विज्ञ

अतुलनीय शिक्षा र चेतनाको दियो जलाएर जान्छ । जिम्मेवारी र नेतृत्वमा रहेकाले आफ्नो जिम्मेवारी वहनको क्रममा जीवनको समेत ख्याल गर्न नहुने प्रेरणा समेत यस्तो उत्सर्गले प्रदान गरेको हुन्छ । नेपालगंजबाट जुम्लाको लागि उडेको एयर काष्ठमाण्डपका चालक द्वय दिनेश न्यौपाने र सन्तोष रानाले त्यै मृत्युवरण गरे जसबाट ब्रह्माण्डका मनुष्यको दिल र दिमागलाई नराम्ररी झक्झकादिएको छ । उनीहरूको जीवन वलिदान आजसम्म संसारमा मरेका मान्छेहरुको भन्दा वेग्लै र अभूतपूर्व थियो । त्यति ओजस्वी र तेजीलो मरण सायद आजसम्म यो धर्तीका मनुवाले भोगेको नै छैन । त्यस्तो मृत्यु इतिहास यी दुईभाइले रचे जसबाट प्रत्येक मान्छेले एकपटक निधार खुम्च्याएर, छातीमा हात राखेर धेरै बेर सोच्नु पर्ने हुन्छ । नेपालगंजवाट उडेको हवाईजहाजमा समस्या देखापरेपछि जुम्ला अवतरण हुन सकिन्न भन्ने यकीन दुवैमा भैसकेपछि दिनेशले यात्रुहरूलाई हामी मरेर भए पनि तपाइँहरुको जीवन बचाउछौँ भन्ने आस्वासन यात्रुहरुलाई गराएका थिए । उनले जे भने Dineshneupane-and-Santosh-ranaपछि त्यै गरे । आफू मरे तर यात्रुहरूलाई बचाए । जिम्मेवारीको यो महान कर्मलाई वखान र प्रशंसा गर्ने शव्द खोज्न कठिन छ ।
नेपालको अवस्था पछिल्लो चरणमा त गैह्रजिम्मेवारीको पराकाष्ठबाट गुज्रिएको वेला दिनेश र सन्तोषद्वारा जिम्मेवारी वहनको गहन र अतुलनीय व्यवहारले अझै पनि नेपाली समाजमा मान्छे छन् भन्ने आभाष दिलाएको छ । सर्वत्र देखिने चौतर्फी वेथितिको मारमा पिल्सिएका निमुखा नागरिकमा यी दुई प्राणीको जिम्मेवारी वोधयुक्त प्राणोत्सर्गले नेपाली समाजप्रति आशा पलाएको छ, भरोसा जागेको छ । तुच्छ राजनीतिक अडानमा जनताको घाँटी निमोठने गरी भएको वन्दले पिरोलिएका नेपाली नैराश्यले हैरान थिए । दिनदहाडै कालोवजारीले समानान्तर सत्ता चलाएबाट जनता वाक्क दिक्क छन् । विहान उठेदेखि राति ओछ्यानमा नदिनाएसम्म विविध खाले अप्ठ्यारा र वेथितिबाट पोलिएका जनता राम्रो कुरा सुन्न र भएको हेर्न आतुर थिए । जहाँ गए पनि अन्याय, थिचोमिचो, अनैतिकताबाट पिरोलिएका नेपाली जन दिनेश र सन्तोषको साहसी कार्यबाट उत्साही र आशावान तुल्याइएका छन् । दिनेश र सन्तोषले नेपाली नेतृत्व र जिम्मेवारीमा वस्नेलाई गतिलो पाठ पढाएका छन् । कुनै जिम्मेवारी लिन चाहान्छौ भने प्राणको पनि माया नगर, हैन भने जिम्मेवारी नलेऊ । यही सन्देश हो यी दुईको मृत्युको ।

हुन त नेपाली समाज यस्ता घटना चाँडै नै विर्सन्छ । मलामी जाँदा लास जलन्जेल मृत्युको तत्ववोध भए पनि फर्केर घर पुग्दानपुग्दा अघि वोध भएको ज्ञान विस्मृतिमा लाने नेपाली आम मानसिकता छ । यो देश नबनेको, विग्रिएको पनि यै मानसिकताले हो ।
दिनेश र सन्तोषले सामूहिक जिम्मेवारीको सार्थक नमूना प्रदर्शन गरेर मरे । जिम्मेवारीको अतुलनीय दृष्टान्त छाडेर गए । मान्छे मरणशील हो, यसमा कुनै व्याख्या र विश्लेषण जरुरत छैन । तर मरणका भाँती भने भिन्नभिन्न हुन्छन् । यति अपत्यारिलो मृत्यु दिनेश र सन्तोषले दिए कि नेपाली समाजका वैमान अगुवाहरूको धेरै नभए पनि आजको रातको निद पक्कै पनि हराम हुनुपर्छ । सन्तोष र दिनेशले सार्वजनिक जिम्मेवारी लिएको जुन अविस्मरणीय उदाहरण पेश गरे त्यसबाट यो मुलुकका सार्वजनिक जिम्मेवारीमा रहेकाले पटकपटक सोच्नुपर्ने भएको छ । सार्वजनिक जिम्मेवारी व्यक्तिगत हितका खातिर हैन, त्यो सामुहिक भलाईको लागि हो जुन परिआए ज्यानै पनि दिनुपर्ने हुन्छ ।
हुन त पदका लागि जे पनि गर्न तम्सने, सार्वजनिक पदलाई व्यक्तिगत लाभका लागि उपयोग गर्ने पापिष्टहरूको बाहुल्यता भएको वर्तमान परिवेशमा यी कुरा लेख्नु पनि निरर्थक हुन्छ । मन्त्री पद भागवण्डमा कुरा नमिलेर सरकारको पूर्णता पाउन महिनौं लाग्ने, भनेको पद नपाउँदा दल नै विभाजन गरेर हिड्ने अगुवाको हालीमुहाली रहेको मुलुकमा दिनेश र सन्तोषको मृत्यु फिक्का लाग्न सक्छ । अपितु नेपालका इमान्दार नागरिक समूहले यी दुई नक्षत्रको आजको मृत्युलाई साँच्चै गर्व गर्न लायक, अद्वीतीय उत्सर्गको रूपमा लिएका होलान् र लिनु पनि पर्छ । जीवन सामूहिकताका लागि हो भन्ने अनुपम प्रेरणा दिनेश र सन्तोषले प्रदान गरेका छन् । जीउनु अर्कैका लागि हो भन्ने अतुलनीय नमूना यी जोडीले पेश गरेका छन् । हामी मर्छौ तर तपाईहरूलाई मर्न दिन्नौँ भनेर हाक्काहाक्की आफूलाई मिटाइ दिएका छन् । यस्तो मृत्यु मर्ने मान्छे नगण्य हुनुपर्छ संसारमा । यो मृत्यु चानेचुने होइन । यो मृत्यु सरल पनि होइन । तिम्रो पिसाब मेरो लागि औषधि बन्छ, एक तुर्को तुर्काउन भन्दा मुण्टो बटारेर हिड्ने संस्कार विकसित गर्दैगरेको नेपाली समाज र मानसिकताको आँगनमा दिनेश र सन्तोषले उच्च उत्सर्ग गरेर प्राण आहूत गरे । बरू हामी मर्छौ तर तिमीहरूलाई मर्न दिन्नौँ भन्दै त्यहि बाचा पूरा गरे र गए यी जोडी । यो उत्सर्गलाई कहिलै नभूल्ने प्रण हामीमध्ये कतिले गर्छौ होला ? सार्वजनिक जिम्मेवारीलाई दिनेश र सन्तोषकै शैलीमा नभए पनि त्यतातिर लक्षित गर्ने प्रण हामीले गर्छौ या गर्दैनौ ? हामी दिनेश र सन्तोषको मृत्युबाट केही सिक्ने प्रयास गर्यौ भने मात्र उनीहरुको आत्माले शान्ति पाउँछ जस्तो लाग्छ ।

हृदयदेखि कै भावपूर्ण श्रद्धाञ्जी दिनेश न्यौपाने र सन्तोष रानाप्रति !

१४ फाल्गुण, २०७२( लेखक को फेस बुक  बाट )

(तस्बिर  -online खबर .com)

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *