Breaking News

सामुदायिक वन विकासमा नेपालका वन प्राविधिक

Share
प्रकाश लम्साल, उप–सचिव, वन विभाग
प्रकाश लम्साल, उप–सचिव, वन विभाग

१. सन्दर्भ

वन क्षेत्र निर्माण सामाग्री र जैविक विविधता दुवै थरिको भण्डार हो । तर संरक्षण र निर्माण सामाग्री्र उत्खनन आपसमा प्रतिश्पर्धी तथा द्वन्दात्मक विषय   हुन् । यस्ता कार्य सन्तुलित तथा परिपूरक रुपमा गर्ने गराउने कार्य आँफैमा चुनौतीपूर्ण छ । ३० को दशक भन्दा अगाडी जनसहभागितामा आधारित नीति तथा कार्यक्रमको अभाव, कमजोर नियमन र कानुन कार्यान्वयनको अवस्थामा वन क्षेत्र क्षतिग्रस्त हुने, गल्ली तथा पहिरोजस्ता प्रकोपजन्य घटना निम्तिने, विकासका पूर्वाधार जोखिममा पर्ने, वस्तु तथा सेवा उत्पादन गर्ने वनको क्षमतामा ह्रास र वनमा आश्रित समुदाय झनै गरिवीको चपेटामा पर्दै गएको अवस्था थियो ।

 उल्लेखित अवस्था र इन्धनको लागि वन क्षेत्रमा अत्याधिक निर्भरताको कारण वन क्षेत्र झनै द्रुत गतिमा क्षतिग्रस्त हुंदै थियो । स्थानीय सामाजिक तथा आर्थिक अवस्था सुहाउँदो जनमुखी नीति तथा कार्यक्रमको अभावमा समग्र वन क्षेत्र, वन प्रशासन र स्थानीय समुदायबीच आपसी सहयोगी सम्वन्ध विकास हुन सकेको थिएन । नीतिगत तथा कार्यविधिगत तहमा संरक्षण र विकासको सन्तुलन थिएन ।

२. सामुदायिक वनको विकास क्रम

 स्थानीय समुदायको निर्णायक नियन्त्रण र सहभागितामा तात्कालीन समस्या समाधन गर्न नेपालले ३० कै अन्त्यतिर सामुदायिक वन विकास कार्यक्रम तय ग¥यो । नाङ्गा पाखाहरुमा वृक्षारोपण गर्ने र हैसियत विग्रेका प्राकृतिक वनको संरक्षण गर्ने कार्यहरुबाट कार्यक्रम कार्यान्वयन सुरु भएको थियो । सरकारले सवैकुरा जान्दछ (र, गर्दछ पनि) भन्ने सरकारी अधिकारी तथा सर्वसाधारणको मानसिकता भएको तात्कालीन अवस्थामा वन संरक्षण तथा वृक्षारोपण जस्ता तत्काल प्रत्यक्ष फाईदा नहुने कार्यमा जनसहभागिता जुटाउन सजिलो काम थिएन । सरकार र स्थानीय उपभोक्ताबीच अहिलेको जस्तो दोहोरो सम्वन्ध थिएन । नीतिगत तथा कानुनी व्यवस्था भएतापनि परस्पर विश्वासको अभावमा पूर्ण गतिमा कार्यान्वयनमा गएको थिएन ।

सामुदायिक वनको नाम भएतापनि अधिकांश वृक्षारोपण कार्य जिल्ला वन कार्यालयबाट अमानतमा गरी संरक्षणको लागि जिल्ला वन कार्यालयबाटै हेरालुको व्यवस्था गरिन्थ्यो । एकातर्फ सरकारी नीति तथा कार्यक्रम कार्यान्वयन गराउने दायित्व तथा अर्काेतर्फ स्थानीय उपभोक्तासंग विश्वासको संकट थियो । यस अवस्थामा समुदायसंग सिधा सम्पर्कमा रहेर उनीहरुको विश्वास जित्दै सरकारको सामुदायिक वन नीति तथा कार्यक्रम कार्यान्वयन गराउने नयां तथा महत्वपूर्ण जिम्मेवारी स्थलगत मोर्चाका प्राविधिक कर्मचारीमा थपियो । उनीहरुलाई यस भूमिकामा प्रस्तुत गराउन विभिन्न सहयोगी कार्यक्रमबाट अभियानकै रुपमा तालीम, भ्रमण, अन्तरक्रिया गोष्ठि जस्ता क्षमता अभिवृद्धि कार्यमा संलग्न गराईयो ।

स्थानीय समुदायलाई सामुदायिक वन मार्फत संरक्षणको नयां भूमिकामा प्रस्तुत गराउन स्थलगत मोर्चाका प्राविधिक कर्मचारीबाट सहयोग र सहजीकरण सुरु भयो  । स्थलगत प्राविधिक कर्मचारी संयन्त्रलाई व्यक्तिगत तथा संस्थागत तहमा निरन्तर रुपान्तरण गर्ने, गराउने र सामुदायिक वनले माग गरेको नयां भूमिकामा प्रस्तुत गराउने मूख्य कार्यको नेतृत्व केन्द्रमा वन विभाग र जिल्लामा जिल्ला वन कार्यालयबाट भयो । आफ्ना कर्मचारीलाई परिवर्तनको बाटो देखाई आंफू स्वयं उक्त बाटोमा साथै हिड्ने कार्यको नेतृत्व जिल्ला जिल्लामा जिल्ला वन अधिकृतहरुबाट भयो । आजभन्दा करिव ४० वर्ष अगाडि सुरुभएको सामुदायिक वन विकास एक गतिशील प्रकृयाको रुपमा विकास–रुपान्तरण हुंदै आजको अवस्थामा आईपुगेको छ । वन नीति २०७१, वन ऐन २०४९ तथा नियमावली २०५१ को व्यवस्था र सहयोगी सरकारी कार्यक्रम मार्फत नीतिगत, कानुनी तथा कार्यविधिगत रुपमा सुदृढ एवं संस्थागत हुंदै अन्तहीन संरक्षण तथा विकासको बाटोमा अघि वढ्दै छ ।

३. विद्यमान अवस्था वन प्राविधिकको भूमिका

नेपालमा हालसम्म १९,००० भन्दा बढी सामुदायिक वन स्थापना भै त्यतिनै संख्यामा रहेका सामुदायिक वन उपभोक्ता समूह करिव १८ लाख हेक्टर वन व्यवस्थापन गर्न संलग्न हुनु सामुदायिक वन विकास कार्यान्वयनको गौरवशाली उपलव्धि हो । वन ऐन २०४९ र नियमावली २०५१ द्वारा अविछिन्न उत्तराधिकारवाला स्वशासित तथा वन व्यवस्थापनको लागि आधिकारिक संस्थाको रुपमा स्थापित भएका वन उपभोक्ता समूह मार्फत ग्रामीण क्षेत्रमा सामाजिक तथा मानवीय, जैविक तथा वातावरणीय एवं भोतिक पुंजीको नवनिर्माण, विकास तथा व्यवस्थापन भएका छन् ।

उल्लेखित पुंजीको व्यवस्थित परिचालनबाट सामुदायिक वन र उपभोक्ता समूहको वसोवास क्षेत्रमा निरन्तर अग्रगामी परिवर्तनको श्रृङ्खला देखा परेको  छ । सामुदायिक वनले विधिमा रहेर काम गर्ने क्षमता तथा संस्कार, कामप्रतिको समर्पण र तत्परताको विकास समेत गरेको छ । सामुदायिक वनका कृयाकलापमा भाग लिएर उपभोक्ता सदस्यले आफ्ना समस्या तथा समाधानका उपाय केलाउन सक्ने, आफ्नो काम आंफै गर्ने तथा जनजीवनका अन्य पक्षलाई समेत समविकास गर्ने अवसर प्रदान गरेको छ ।

स्थापित सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन बाट प्राप्त स्रोत र आफ्नै मानवीय स्रोत परिचालन मार्फत स्थानीय विकास, साना उद्यम तथा आय आर्जन र स्थानीय  रोजगारीको सिर्जना समेत गरेका छन । वन स्रोतबाट प्राप्त आम्दानी अन्य स्रोत परिचालनको समेत माध्यम वनेको छ । सामुदायिक वनको आम्दानीले स्थानीय अन्य स्रोत परिचालनको लागि ट्रिगरको काम गरेको छ । उपभोक्ता समूह ग्रामीण विकासका लागि मुलुकभरी फैलिएका सवैभन्दा शक्तिशाली स्थानीय स्वचालित संयन्त्रको रुपमा विकास भएका छन ।

यस किसिमको विकास तथा परिवर्तन सिक्काको पाटो पल्टे जसरी एकैपल्ट आएको भने होइन । समयक्रमको अनुभवका आधारमा कार्यपद्दतिमा निरन्तर रुपान्तरण तथा विकास (evolution) हुंदै आएको हो । प्र्रत्येक सामुदायिक वन तथा उपभोक्ता समूह एकीकृत ग्रामीण विकासका लागि परिवर्तनका वाहक तथा ग्रामीण विकासमा सिकाईका केन्द्रविन्दुको रुपमा विकसित भएका   छन् । वन प्राविधिकहरु सामुदायिक वनको विकास तथा रुपान्तरण कार्यमा नेतृत्व मात्र प्रदान गरेका छैनन्, आफूँ स्वयं पनि रुपान्तरित भएका छन ।

आँफै रुपान्तरित हुंदै जाने र वन व्यवस्थापनमा समुदायको भूमिका रुपान्तरित गराउने कार्य सुरुवाती दिनमा वन प्राविधिकको लागि निकै चुनौतीपूर्ण थियो ।  स्वीकृत वार्षिक कार्यक्रममा समेत सामुदायिक वन उपभोक्ता समूह नेटवर्किङ/संजालीकरण  कार्यक्रम समावेश गरी अन्तरसमूह सहकार्य तथा साझेदारीलाई प्रोत्साहन तथा सहजीकरण गर्ने कार्य निरन्तर जारी रह्यो । यस्ता कार्यक्रम देशव्यापी रुपमा निरन्तर कार्यान्वयनको परिणामस्वरुप सामुदायिक वन उपभोक्ता महासंघ जस्ता समुदायमा आधारित संस्थाको स्थापना भएको हो ।

आजको शक्तिशाली उपभोक्ता महासंघको सुरुआत यसैगरी भएको अभिलेखित प्रतिवेदनहरुमा देख्न पाइन्छ । स्थलगत वन प्राविधिकले सामुदायिक वनको नयाँ सन्देश लिएर जाँदा यो सरकारको कार्यक्रम हो हामी सामुदायिक वनमा सम्मिलित हुन्नौ भनी गाँउको नेतृत्व प्रदान गर्ने व्यक्तिहरु समेत वन प्राविधिकको प्रयासमा विस्तारै रुपान्तरित भएर काम गर्दै आजको दिनमा सामुदायिक वनको नेतृत्वमा पुगेको अवस्था छ ।

स्थलगत वन प्राविधिकले हिँजोको सो अवस्थामा मात्र होइन सामुदायिक वनको कार्यान्वयन तह आजसम्म आईपुग्दा सदा परिवर्तनका एजेण्टकै रुपमा कार्य गरिराखेको पाइएको छ । र अनुभुति गरिएको छ । सामुदायिक वन परिवर्तनशील अन्तहीन प्रकृया हो । यस प्रकृयालाई नेतृत्व प्रदान गर्दै सहजीकरण गर्ने वन प्राविधिक आंफै रुपान्तरित नभएको भए सामुदायिक वनको आजको अवस्थ सायदै आउने थियो होला । सामुदायिक वनको प्रगति यात्रामा वन प्राविधिकले परिवर्तनको नेतृत्व मात्र गरेका छैनन् व्यक्तिगत तथा कार्यरत निकायको क्षमता समेत वढाएका छन । सामुदायिक वन विकासमा खुलेर काम गर्ने जुनसुकै वन प्राविधिक जनप्रिीय तथा सक्षम देखिनु यसको सूचकको रुपमा लिन सकिन्छ ।

 ४. वन प्राविधिकको नविनतम योगदान

सामुदायिक वन विकासको आजसम्मको प्रगति यात्रामा स्थलगत तथा नीतिगत दुवै मोर्चामा वन प्राविधिकको मूख्य भूमिका परिवर्तनको संवाहकको रुपमा थियो र आजपर्यन्त छ । आज पनि वन अधिकृतहरुले सामुदायिक वनको सामाजिक प्रकृयालाई सुदृढ गर्दै सामुदायिक वन क्षेत्रभित्र गरिने कार्यलाई वन विज्ञानसंग जोड्ने काम गर्दै छन । सामुदायिक वन विकासको परिवर्तनको अभियानमा लामो समयसम्म नेपालमा र विश्वमा चर्चित अभियन्ता डन गिल्मोरले सामुदायिक वनको सामाजिक तथा संस्थागत अभियान सुदृढ हुंदै गरेको आजको अवस्थामा अव सामुदायिक वनलाई वन विज्ञान (Forest Science_संग जोड्नु आजको सवभन्दा महत्वपूर्ण सवाल तथा चुनौतीको रुपमा उठाएका छन् । आज नेपाली वन प्राविधिकहरु पनि विश्वले यसरी पहिचान गरेको मुद्दा सम्वोधन गर्ने प्रयासमा छन् । सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन अभियानलाई यसै प्रयासको सूचकको रुपमा लिन सकिन्छ ।

परिवर्तनको अर्काे महत्वपूर्ण पक्ष झनै महत्वपूर्ण  छ । सामुदायिक वन विकास कार्यक्रमको प्रभावका कारण नेपालकै वन तथा जैविक विविधता संरक्षणका अन्य कार्यक्रमहरु समेत सहभागितामूलक, समावेशी र जनमुखी वनेको छन । सामुदायिक वनले मूल प्रवाहको रुप धारण गरेको छ । प्राप्त परिणामहरुका आधारमा नेपालको अधिकारमुखी तथा सहभागितामूलक वन व्यवस्थापन प्रणालीले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा ख्याति समेत आर्जन गरेको छ ।

५. सामुदायिक वन राष्ट्रिय दिवसको सान्र्दभिकता

 सामुदायिक वनको प्रगति यात्रा यहांसम्म आइपुग्दा जसरी संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय उपभोक्ता समूहको संस्थागत सहभागिता रह्यो त्यसरीनै स्थलगत मोर्चाका कर्मचारी तथा सहजकर्ताको योदान रहेको देखिएको र अनुभूति गरिएको छ । सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान नाराका साथ सामुदायिक वन राष्ट्रिय दिवस प्रथम पटक मनाईरहंदा ती समूह र स्थलगत सहजकर्ता कर्मचारीको विशिष्ट योगदानलाई विशेष रुपमा स्मरण गर्नै पर्दछ । स्थलगत मोर्चामा रहेर प्रत्यक्ष र नीतिगत तहमा रहेर अप्रत्यक्ष रुपमा सामुदायिक वन विकास अभियानको आजसम्मको यत्रामा संलग्न हुन पाउनु सम्पूर्ण वनकर्मी प्राविधिकको लागि पनि  गौरवको विषय वनेको छ ।

६. आगामी कार्यदिशा

सामुदायिक वन विकासमा संलग्न प्राविधिक कर्मचारीहरुका लागि आगामी दिनहरु पनि उत्तिकै चुनौतीपूर्ण र समस्याले भरिएका हुनेछन् । वैज्ञानिक वन व्यवस्थापन तथा व्यवस्थापन मार्फत समृद्धि सामुदायिक वनको साधन तथा गन्तव्य दुवै हो । वैज्ञानिक वन व्यवस्थापन तथा समृद्धि हाम्रो नयां गन्तव्य भएको छ । वन वीनास र क्षयीकरण जस्ता सुरुवाती प्रथम पुस्ताका चिन्ता र सरोकारका विषयमात्र वोकेर सामुदायिक वनको विकट तथा कठिन गन्तव्य हांसिल गर्न सकिन्न ।

आजसम्म हांसिल गरेका सफलतामा टेकेर आगामी दिनमा वैज्ञानिक वन व्यवस्थापन र व्यवस्थापन मार्फत औद्यागिक कच्चा पदार्थ तथा निर्माण सामाग्रीको व्यवसायिक आपूर्ती गराउनुपर्ने छ । स्थलगत अभ्यास – नीति – विज्ञानको असल संयोजन गरी उल्लेखित गन्तव्य हांसिल  गर्नुपर्नेछ । गन्तव्य संरक्षण र  समृद्धि तर्फको सामुदायिक वनको अन्तहीन यात्रामा निम्न विषयले आगामी मूल प्रवाहको रुप लिने छन ।

  •   वैज्ञानिक र व्यवसायिक उत्पादन (economies of scale)
  •   निजी उद्यमीसंग साझेदारी/सहकार्य, प्रशोधन र वजारीकरण मार्फत स्थानीय र राष्टिय समृद्धिमा टेवा
  •  सामुदायिक वनमा आश्रित वन्यजन्तु, तीनका वासस्थान तथा जैविक मार्ग संरक्षण
  •  विहंगम भू–परिधिस्तरमा संरक्षण समन्वय REDD कार्यान्वयन तथा जलवायु परिवर्तन अनुकूलन
  •  वातावरणीय सेवा प्रदान गर्ने वनको क्षमता सुदृढ गर्दै सेवा वापत भुक्तानी

उल्लेखित विषयवस्तुले स्वाभाविक रुपमा एकल सामुदायिक वनको भन्दा पनि वृहत दायरा लिन सक्दछन । यस अवस्थामा दुई वा दुईभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको कार्यमूलक (functional) साझेदारी तथा सहकार्यको संस्थागत आवश्यकता हुनेछ । जुन विद्यमान नीतिगत तथा कार्यक्रमिक व्यवस्थाले पूरा मात्रामा देखेका र समेट्न सकेका छैनन् । जसरी आजसम्मको यात्रमा वन प्राविधिकको गौरवशाली योगदान रहेको छ त्यसरीनै आगामी दिनमा सामुदायिक वनको मूलबाटोमा समेत उल्लेखित सवालको सम्बोधन गर्न वन प्राविधिकले कुशल नेतृत्व दिउन । संरक्षण शुभकामना !

नोट : प्रस्तुत लेख वन सञ्चार द्धैमासिकको अंक ७ मा प्रकाशन गरिएको हो । सान्दर्भिक भएको हुनाले यस अनलाइनमा पनि प्रकाशन गरिएको छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *