Breaking News

पूर्वाधार निर्माणमा जुट्यो सामुदायिक वन

Share

aa

काठमाडौं । पर्यटकीय नगरी पोखराको एक सामुदायिक वन समूहले विगत लामो समयदेखि विकास निर्माणका कार्यमा आफूलाई समर्पण गर्दै आएको छ ।

लेखनाथ नगरपालिका–१८ स्थित सित्तुम कस्यारी तथा सिम्सार पातलेस्वारा जुकेपानी सामुदायिक वन उपभोक्ता समूहले वनको आम्दानीबाट यस क्षेत्रमा विकास निर्माणका कार्यमा लगानी गरेर संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आएको हो । वन पैदावार बिक्रीबाट भएको आम्दानीलाई शिक्षा, खानेपानी, बाटो लगायतका विभिन्न भौतिक पूर्वाधार निर्माणमा लगानी गर्दै आएको  छ ।

समूहले वनको संरक्षण, संवद्र्धन र उपयोगका साथै यस आर्थिक वर्षमा वन समूहसँग सम्बन्धित १० वटा विभिन्न सङ्घसंस्थालाई १५ हजारका दरले एक लाख ५० हजार नगद आर्थिक सहयोग प्रदान गरेको छ । सो वन २०५९ सालमा गणेशमान सामुदायिक वन तेस्रो पुरस्कारबाट पुरस्कृत भइसकेको छ ।

सामुदायिक वनको आम्दानीमध्येबाट सो क्षेत्रको विकास निर्माणका साथै समूहमा आवद्ध विपन्न वर्गको उत्थानका लागि विभिन्न उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्न पाँच लाखभन्दा बढी लगानी गरेको छ ।  कुल एक सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन समूहलाई छवटा ब्लकमा विभाजन गरी दैनिक पाँच जनाका दरले घर लौरो गरेर संरक्षण गर्दै आएका छन् । पन्चान्नब्बे हेक्टरमा सालधारी रहेको उक्त वनमा एक सय ८५ घरधुरी उपभोक्ता रहेका छन् ।

आन्तरिक र बाह्य अतिक्रमणका कारण वन खोरिया फाँडेजस्तै गरी उजाड भएपछि २०४२ सालदेखि स्थानीयवासीको सक्रियतामा उक्त वनको संरक्षण सुरु गरिएको हो । जिल्ला वन कार्यालय कास्कीद्वारा २०४८ सालमा त्यसलाई स्थानीय समूहमा हस्तान्तरण गरिएको हो । जिल्ला वन कार्यालयले कास्की जिल्लामा चार सय ८५ सामुदायिक वन प्रक्रिया मिलाएर समूहलाई हस्तान्तरण गरिसकेको छ ।

प्राकृतिक एवम् सांस्कृतिक महत्व बोकेको सो क्षेत्रका बारेमा प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *