Breaking News

नेपालमा गुराँस :थप अध्ययन अनुसन्धान अत्यन्त जरुरी

Share

अर्डर Ericales अन्तर्गत परिवार Ericaceae र उप-परिवार Ericoideae मा पर्ने गुराँस, जिनस  Rhododendron भएको वनस्पति हो।

रक्शन्दा सेढाई वन वातावरण लेखक, वन संचार

रोडोडेन्ड्रोन(Rhododendron) नाम ग्रीक शब्द बाट आएको हो जसमा Rhodo(Rose) र Dendron(Tree) हो। गुराँस रुखसम्म बढ्ने प्रजाति हो जुन करिब ३० मिटर सम्म अग्लो भएको पाइएको छ। प्रत्येक फूल फुल्नको लागि आफ्नै समय हुन्छ। यो बिशेष गरि पौष-माघ देखि भाद्र-आश्विन सम्म फुल्ने गर्छ। यी महिनाहरुमा गुराँसले वनजङ्गलमा आफ्नो प्रभुत्वो जमाउने गर्दछ। प्रजाति अनुसार गुराँसको वासस्थान, उचाइ देखि लिएर यसको फूल, पात, बोक्रामा समेत विविधता पाइन्छ। रातो, सेतो, गुलाबी, पहेलो, निलो, सुन्तला लगायत विभिन्न रंगहरुमा गुराँसका फूलहरु पाइन्छन्। गुराँस समुन्द्र सतहबाट १००० मिटर देखि ६००० मिटरको उचाइसम्म रहेको पाइन्छ। विश्वको एशिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा पाइने गुराँस बिशेषत दक्षिण पूर्वी एशियाका देशहरु जस्तै नेपाल, चीन, भारत, भुटान, म्यानमार, थाइल्याण्ड, भियतनाम, इन्डोनेसिया र फिलिपिन्समा रहेका छन्। नेपालमा भने विशेष गरि प्रदेश न.१ को तीनजुरे-मिल्के-जलजले क्षेत्र र इलाम क्षेत्र, प्रदेश न.३ को दामन-सिम्भन्ज्यांग क्षेत्र, प्रदेश न.४ घोडेपानी क्षेत्र, प्रदेश न.६ दैलेख क्षेत्र, प्रदेश न.७ डोटी-डडेल्धुरा-बैतडी क्षेत्रमा पाइन्छ। गुराँसका प्रजाति पाइने जङ्गलले नेपालको लगभग ६ लाख ९२ हजार हेक्टर क्षेत्र ओगटेको छ। (गुराँस संरक्षण कार्ययोजना, २०७५-२०८०)

Rhododendron arboreum

विश्वभरि हालसम्म ११५७ प्रजातिका गुराँसहरु रेकर्ड गरिएका छन् भने नेपालमा अहिलेसम्म जम्मा ३१ प्रजातिका गुराँस पाइएको जानकारी छ। ती मध्ये लालीगुराँस (Rhododendron arboreum) नेपालको राष्ट्रिय फूल हो। वि. स. २०१९ साल पौष १ गते देखि लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रुपमा घोषित गरिएको हो त्यसैले नेपालमा यसले छुट्टै महत्त्व बोकेको छ। लालीगुराँस नेपालको फूलको रानी हो। नेपालमा सबैले यसलाई सौन्दर्यको प्रतीकको रुपमा सम्मान गर्छन किनभने जङ्गलको हरियालीसँग मिश्रित रङ्गीन लालीगुराँस निकै सुन्दर र आकर्षित देखिन्छ। रोडोडेन्ड्रोन (Rhododendron) विश्वभरि पाइन्छन् तर नेपाली लालीगुराँस विशाल आकार तथा फराकिलो वितरणका लागि मौलिक छन्। ३१ प्रजाति मध्ये Rhododendron cowanianum Rhododendron lowndesii  नेपालमा मात्र पाइन्छन्। (वनस्पति विभाग, २०१६)

Rhododendron lowndesii

सर्वप्रथम नेपालको राष्ट्रिय फूल भएको कारणले लालीगुराँसको नेपालमा विशिस्ट स्थान रहेको छ। आफैमा अत्यन्त सुन्दर लालिगुराँस हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा पारिस्थितिक महत्त्व राखेको प्रख्यात प्रजाति हो। यसको फूल, पात, बोक्रा, रुख सबै उत्तिकै उपयोगी हुन्छन। यसबाट धुप, अगरबत्ती, जुस, औषधी बन्नुका साथै काठबाट खुकुरी र खुर्पाका बिड, बाकस बनाउन सकिन्छ। गाउँघरतिर माछाको काडा घाँटीमा अड्केको अवस्थामा लालीगुराँसको रस पिउदा निको हुन्छ भन्ने परम्परागत विस्वाश पनि छ। यो फूल अत्यन्त सुन्दर हुने भएकाले नेपाली नारीहरुले यसलाई कपालमा लगाउने गर्छन। यति मात्र नभएर नेपालको निशान छापमा लालीगुराँसको चिन्ह रहेको पाइन्छ। वनैभरी ढकमक्क रंगीचंगी फुल्ने यी फूल पाइने क्षेत्रमा पर्यापर्यटनको राम्रो विकास हुन सक्छ र त्यसबाट आम समुदायलाई विभिन्न रोजगारको सिर्जना हुनुको साथै राष्ट्र नै समृद्ध बन्न सक्छ।

Rhododendron cowanianum

तर अहिले जलवायु परिवर्तनले गर्दा गुराँस फुल्ने समयमा परिवर्तन आएको छ। पृथ्वीको औसत तापक्रम बढ्दै गएपछि समय भन्दा पहिलै गुराँस फुल्न सुरु भएको विज्ञहरुको भनाइ छ। यसैगरी वनमा स्थानीय मानिसहरुको निर्भरता, वन डढेलो, चरिचरण, चोरीनिकाशी आदिका कारणले गुराँस प्रजाति नासिदै गइरहेका छन्। त्यसका लागि गुराँस तथा गुराँस पाइने क्षेत्रहरुको संरक्षण, गुराँसको वनमा दिगो व्यवस्थापन, गुराँस संग सम्बन्धित उधम र पर्यापर्यटन व्यवस्थित ढंगमा विकास गरेमा गुराँसको संरक्षण गर्न सकिन्छ। यस प्रजातिको आर्थिक तथा अन्य उपयोगिताको कारण सरकार र स्थानीय जनतालाई यसको संरक्षण तथा व्यवस्थापनमा सहभागी गराइ उच्च फाइदा लिन सकिन्छ। गुराँस बहुउपयोगी र पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रजाति हो त्यसैले यसका प्रजातिको संरक्षण गर्नका लागि अन्य जनचेतनामूलक कार्यक्रम संचालन अनि यसको थप अध्ययन अनुसन्धान गर्नु अत्यन्त जरुरी छ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *