Breaking News

चमेरा संरक्षण : कृषि उत्पादकत्व वृद्धि , पर्यावरण संरक्षण र पर्यटन बिकाश का लागि

के.वि.मसाल, दाङ्ग kbmashal50@gmail.com
के.वि.मसाल, दाङ्ग
kbmashal50@gmail.com

imagesचमेरो स्तनधारी पन्छी हो । विश्वमा झण्डै ११ सय प्रजातिमा पाइने चमेरा नेपालमा भने एकसय प्रजातिको मात्र पाइन्छ । नेपालमा पाइने चमेराहरुको प्रजाति मध्ये केही प्रजातिका चमेराहरुको आश्रयस्थल गुफामा रहेको छ । गुफामा चमेराको बासस्थान भएकोले धेरै जिल्लाका गुफाको नाम पनि चमेरे गुफा राखिएको छ । दाङ जिल्लाको तुलसीपुर नगरपालिका हलवार–मुलकोटमा रहेको गुफाको नाम पनि चमेरे गुफा राखिएको छ । संसारमा पाइने चमेरा मध्ये ७० % मांसहारी र ३०% चमेरा साहकारी हुन्छन् । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरु मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ । आकारमा मांसाहारीको तुलनामा फलाहारी चमेरा अलिक ठूला हुन्छन्।् । वातावरण अनुकुलको प्रभाव बढ्दै जाँदा चमेराहरुको बासस्थान गुफामा बढ्न थालेको छ । चमेराको मल संसारकै दश उत्कृष्ट प्राङ्गारिक मल मानिन्छ भने औषधिमा समेत प्रयोग गरिन्छ ।

      चमेरोको आँखा भए पनि यसले अन्धकारमा बाटो पहिल्याउन भने कानको उपयोग गर्दछ । यसको सुन्ने क्षमता यति प्रबल हुन्छ कि यसले 20,hajar HZ भन्दा माथिको आवाज आफै निकाल्न र सुन्न सक्छ । यस्तो आवाजलाई Ultrasonic Waves भनिन्छ । जसलाई हामीले सुन्न सक्दैनौं । किनकि हाम्रो सुन्ने क्षमता 20 hz 20 hajar hz सम्मको मात्रै हुन्छ । यस्तो आवाज चमेरोले आकशमा अँध्यारोमा उड्दाको बखतमा निकाल्छ । उसले उडेकै समयमा Ultrasonic सिग्नल पठाउँछ । यदि अगाडि कुनै वस्तु छ भने उक्त signal फर्केर आउँछ । यसरी फर्केर आएको signal लाई सुनेर चमेरोले अगाडि कुनै अबरोध भए नभएको निर्धारण गर्छ । यस्तो अवस्थामा चमेरो अर्कातिर फर्केर पुनः Ultrasonic सिग्नल पठाउँछ । जतातिरबाट उसले पठाएको ultrasonic signal फर्केर आउँदैन तब अगाडि कुनै अबरोध नभएको कुरा चमेरोले निर्धारण गर्छ र त्यतैतिर उडेर जान्छ ।

      चमेरो काइरोप्टेरसु समूहमा पर्दछ । कोइरोप्टेरस ग्रीस भाषाबाट व्युत्पत्ति भएर आएको शब्द हो । जसको अर्थ Hand Wings अर्थात हातजस्तो पखेटा । चमेरोको तीखो कोणाकारका पखेटाहरु हुन्छन्।् । यी पखेटाहरु झण्डै झण्डै मानिसको हात र पाखुरासँगै मिल्दाजुल्दा हुन्छन्।् । चमेरो स्तनधारी भएर पनि आकाशमा उड्न सक्दछ । चमेरा बाहेक अन्य स्तनधारी जीवहरु जस्तै लोखर्के, बाँदर आदि जस्ता जीवहरु पनि एक ठाउँबाट अर्को ठाउँ उडेर पुगेको हामी देख्दछौँ । तर तिनीहरुको उड्ने गति वा क्षमता सीमित क्षेत्रमा मात्र हुन्छ । जब कि चमेरो खुला आकाशमा स्वतन्त्र रुपमै विचरण गर्न सक्दछ । चमेरोको शारीरिक बनावट र आकार चङ्गा जस्तै देखिन्छ । जसले गर्दा यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ ।

     चमेराहरु विभिन्न आकार र रङहरुमा पाइन्छन्। विशेषगरी यिनीहरु कालो र खैरो रङका हुन्छन् । तर केही चमेराहरु भने पहेंलो चम्किला रङका, केही चाँदी रङका, केही सुन्तला रङका र केही सेतो अनि खैरो रङका पनि हुन्छन्। यसका साथै केही चमेराहरुको शरीर वा पखेटामा थोप्ला–थोप्ला बुट्टा र धर्साहरु पनि रहेको पाइन्छ । चमेराहरु विशेषगरी रुख र बाँसका झ्याङहरुमा टाउको तल गरी झुण्डिएर बस्ने गर्दछन्। चेप्टो परेको टाउँको भएको यो जीव रातको समयमा बढी सक्रिय रहन्छ । चमेरा जातिमा Giant Golden-crowned Flying-fox नाम गरेको एउटा चमेरो हुन्छ जसको पखेटा नै झण्डै दुई मिटर लामो हुन्छ । यो विश्वकै सबैभन्दा ठूलो चमेरो मानिन्छ । त्यसैगरी बम्ल्बेबी ब्याटु नाम गरेको चमेरो विश्वकै सबैभन्दा सानो चमेरो मानिन्छ । यस किसिमको सानो चमेरो दक्षिण र दक्षिणपूर्र्वी एसियामा बढी मात्रामा पाइन्छन्। यो चमेरो यति सानो हुन्छ कि यसको पखेटालाई पट्याएर एउटा सानो सलाइको बट्टामा पनि राख्न सकिन्छ । चमेराहरु पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन्। खासगरी फलाहारी चमेराहरुले वनजङ्गल जोगाउन र बिउविजन परागसेचन गरेर फूलहरुको फर्टिलाइजेसन  गर्न समेत मद्दत गर्दछन् । त्यसैगरी मांसाहारी चमेराहरुले पनि मानिस र विभिन्न अन्नबालिका लागि हानिकारक मानिने कीराहरुलाई खाएर अथवा मारेर मद्दत पु¥याइरहेको हुन्छ ।

    केही बर्ष यता आएर नेपालमा रहेका गुफा र चमेराको खोजी हुन थालेको छ । सिद्ध चमेरे गुफालाई पनि पर्यटन बोर्डले रकम उपलब्ध गराएर केही भौतिक पूर्वाधारको काम भएको छ । तर पनि गुफालाई संरक्षण गर्नुपर्ने धेरै काम बाँकी नै छ । यतिखेर मुलुक भित्रका कयौ प्राकृतिक रुपमा रहेका गुफाहरु पर्यटकीयस्थल बनेका छन् । प्राचीन इतिहासमा हाम्रा पुर्वजहरुको घर आजभोलि पर्यटकीयस्थलको रुपमा विकास हुन थालेपछि गुफाको महत्व बढ्न थालेको छ । मानिस जंगली युगबाट अहिलेको सभ्यतामा आएको ३५ हजार वर्ष भयो । जंगली युगमा मानवहरुले आफ्नो बासस्थानको रुपमा ओढार,गुफा र यस्तै आफूलाई अनुकुल हुने स्थानमा घाम पानी बाट बच्न आश्रयस्थल बनाउँथे । जुन कुरा हामीले इतिहासमा पाउँछौ । तिनै आश्रयस्थल अथवा प्राचीन मानव घर आजभोलि पर्यटकीयस्थलको रुपमा विकास हुन थालेका छन् । जसको उदाहरण स्वरुप चमेरे गुफालाई पनि लिन सकिन्छ । गुफा भित्रको बनोट हेर्दा चमेरे गुफा ग्राफजाईट, ग्रेनाइट, स्लेट बलौटेढुङ्गा, र चुनढुङ्गाले बनेको छ । चमेरे गुफा मात्र होइन नेपालको महाभारत पहाडमा रहेकहरुको प्राकृतिक बनोटमा देखिएका गुफाहरु पनि चमेरे गुफा संगै मिल्जोजुल्दो अवस्थामा रहेकाछन् ।

         दाङ जिल्लाको तुलसीपुर नगरपालिका हलवार महाभारत श्रृंखला मुलकोटमा रहेको चमेरे गुफाले उल्लेखनीयरुपमा आन्तरिक एवं बाह्य पर्यटकहरु पाउन सकेको छैन । एशियाकै ठूलो उपत्यका मानिने दाङ उपत्यकाको उत्तरतिर सल्यान जिल्लाको सिमामा पर्ने महाभारत श्रृंखलाको चमेरे गुफा सामुन्द्रिक सतहदेखि करिव एक हजार तीनसय पचास मिटरको उचाइमा रहेको छ । मुलकोट भन्दा दक्षिणतर्फ घोर्नेटी र उत्तरतिर सल्यानको कटुङजेरी गाउँको बीचको चमेरे गुफा प्राकृतिक र ऐतिहासिक गुफा मानिन्छ । चमेरे गुफा नजिकै सिद्ध र झाँक्रीको थान भएकोले यस गुफालाई झाँक्रीगुफा पनि भन्ने गरिन्छ तर पनि प्रचलित नाम भने सिद्ध चमेरे गुफा नै रहेको छ । चमेरे गुफालाई प्रकृतिको अतिद्वितीय बरदानको रुपमा लिदा पनि हुन्छ । गुफा भित्रका आकृित हेर्दा आदिम युगमा वर्णन गरिए जस्तै सबै इश्वर यहीं छन् कि भन्ने भान पनि पैदा हुन्छ ।

          चमेरे गुफामा चुनढुङ्गाको मात्रा बढी छ ।  चुनढुङ्गा पानीको बेगको घर्षण बाट खिइने हुँदा,चुनको पहाडमा पानीको स्रोतले कालान्तरमा  अहिलेको गुफा बनेको हन सक्दछ । भूगर्भविद् भन्दछन्–चुनढुङ्गा र पानी भएको स्थानमा गुफा बन्ने र पुरिने क्रम भइनै रहन्छ । करोडौं बर्षको बीचमा यस्तो प्रकृया हुने हँुदा हामीलाई अचम्म लाग्दछ । नेपालमा फेला परेका केही गुफाहरुको अध्ययनले के देखाएको छ भने कतिपय गुफामा प्राचीन कालमा मानवहरुको बसोबास भएको थियो । जसको प्रमाणस्वरुप गुफा भित्र देखिएका आकार र विभिन्न मूर्तिको प्रतिबिम्बले ती कुराहरु लाई प्रमाणित गरेको छ । चमेरे गुफाको भित्री भागमा गएर तल हेर्दा विशाल मैदानी भाग देखिन्छ, भन्ने मानिसहरु पनि भेटिन्छन् । तर चमेरे गुफा भित्रको सबै स्थलको आधिकारिक अध्ययन भने हालसम्म कुनै निकायले गरेको पाइन्न । ती गुफाहरुमा देखिएका विभिन्न स्वरुपका चट्टानका आकृतिहरुलाई इश्वरीय शक्तिको स्वरुप मानी मानिसहरुद्वारा पूजाआजा समेत गरिएको छ । नयाँ फेला परेका गुफाहरुको नाम पनि गुप्तेश्वर,भुवनेश्वर,शिव,अकला जस्ता नामले पहिचान गराइएको छ । तर पनि ती गुफामा चमेराको बासस्थान भएको कुरा अध्ययनले देखाएको छ ।

        भौगोलिक हिसाबले चमेरे गुफा दाङ उपत्यकाको बिकट स्थानमा रहेको छ । एक दशक अगाडिदेखि गुफाको चर्चा परिचर्चा हुन थाले पनि हालसम्म सडक यातायातले सुविधा दिन सकेको छैन । पर्सेनी, हलवार, खाद्रे भएर पनि चमेरे गुफामा पुग्न सकिन्छ । तर पैदल यात्राको लागि तुलसीपुर रक्षाचौर यातायातका साधन नियमित गुड्ने हुँदा त्यहाँबाट करिव दुई घण्टाको पैदल घोर्नेटी हँुदै मुलकोट अर्थात चमेरे गुफा पुग्न सकिन्छ । हाल आएर तुलसीपुर सल्यान मोटरमार्गमा पर्ने घोर्नेटी बाट च्युरीबोटसम्म करिव चार कि.मि.सडक मार्ग बन्ने काम भएको छ । तर पनि पक्की सडक नहँुदा चमेरे गुफामा जाने मानिसहरु अधिकांश पैदल यात्रामा पुग्ने गरेका छन् । बाह्य पर्यटक यदाकदा आउने र हालसम्म आन्तरिक पर्यटकहरुले चमेरे गुफाको अवलोकन गर्ने गरेका छन् । महाभारत पर्वतको भिरालो पाखा, वरिपरि जंगल गुफाको वरपरबाट देखिने दाङ उपत्यकाको मनमोहक दृश्यले चमेरे गुफामा पुग्ने मानिसहरु रमाउने गर्दछन् ।

         नेपालमा अहिलेसम्म पहिचान भएका गुफाहरु कुनै न कुनै अध्यात्मिक शक्तिसंग जोडिएर पहिचान दिलाएको छ । त्यसैले हुन सक्दछ चमेरे गुफालाई पनि सिद्ध र झाँक्रीसंग जोडिएको छ ।  आखिर गुफा के हो ? कसरी बन्दछ ? यो कुनै शक्तिबाट बनेको हो ? यो जान्न जरुरी छ । जहाँ गुफा हुन्छ, त्यस पहाडमा चुनढुङ्गा रहेको हुन्छ । चुनढुङ्गा एउटा कमलो खालको चट्टान हो । भू–गर्भशास्त्रीहरुका अनुसार चुनढुङ्गालाई पानीमा रहेको सामान्य कार्बोनिक एसिडले खियाउन सक्दछ । यस किसिमको कार्बोनिक एसिडको उत्पादन आकाशबाट झर्ने पानीका थोपाहरुले हावाबाट कार्वनडाइअक्साइड लिएपछि यसको गति तीब्र हुन्छ । जमिनमा बग्दा पानीले माटोबाट अरु कार्वनडाइअक्साइड लिएर त्यो एसिड झन शक्तिशाली बन्दछ । जहाँ चुनढुङ्गा छ त्यसक्षेत्रमा बग्ने पानीको धारसंग भएको कार्बोनिक एसिडले चट्टानलाई निरन्तर खियाएर पहाडलाई खोक्रो बनाउँछ । यस्तो क्रम हजारौं बर्षसम्म भइरहने र पानीले चुनढुङ्गाको चट्टानलाई खियाउँदा पहाडी श्रृंखलामा गुफाहरु बन्दछन् । भू–गर्भशास्त्रीको भनाइ अनुसार पृथ्वीमा ६ करोड बर्ष अगाडिदेखि कार्बोनिक एसिड बन्न लागेको हो । र अहिले देखिएका गुफाहरु पनि त्यही समयदेखि बन्न लागेको हो ।

         गुफाभित्र देखिने विभिन्न आकृितका बारेमा पनि जान्न जरुरी छ । गुफा भित्र प्रवेश गरेपछि हामीले जुन आकृितहरु देख्दछौ,अथवा भन्ने गर्दछौ,यो शिवजीको मूर्ती,अथवा पाँच पाण्डप या यस्तै नामहरुले आकृितहरुलाई हामीहरुले पहिचान गर्ने गर्दछांै । तर त्यसैलाई वैज्ञानिक तथ्यचाहिं यस्तो छ । हामीले देखेका आकृतिहरु भू–गर्भविज्ञानको भाषामा स्टेलेक्टाइट र स्टेलेग्माइट भनिन्छ । यसलाई सजिलो तरिका बाट बुझ्नको लागि माथिबाट झरेको स्टेलेक्टाइट र तल थुप्रिदै चुलिएर आकृित बन्न लागेकालाई स्टेलेग्माइट भनिन्छ । जुन आकृतिहरुलाई हामी देवताको स्वरुप मान्ने गर्दछांै त्यो नै स्टेलेग्माइट हो । किनभने निरन्तर माथिबाट खसेको स्टेलेक्टाइटका पानीको थोपामा चुन मिश्रित खैरो रंगको पानी चुहिरहेको हुन्छ । यस्तो आकृति बन्नको लागि गुफा भित्र हजारौं बर्ष लाग्दछ ।

          हाम्रो देशका पहाडमा धेरै ठाउँमा चुनढुङ्गाका पहाडहरु छन् । महाभारत श्रृंखलाको पहाडमा त चुनढुङ्गाको खानी नै भेटिएका छन् । त्यसैकारणले हजारांै बर्ष अगाडिदेखि हाम्रा पुर्खाहरले गुफा भेटाउने,भेटिएका गुफाहरलाई कुनै आलौकिक शक्तिको नाम दिने,पुजा–आजा चलाउने त कतै मेलापातको सुरुवात समेत गर्दै आएका छन् । अहिलेको विज्ञान र प्रविधिले यस्ता गुफाहरुको उत्पत्तिको रहस्यलाई बाहिर ल्याइदिएको छ । गुफा चुनढुङ्गाको पहाडमा बन्दछ । अथवा गुफा ज्वालामुखीको क्रेटरबाट बन्दछ । वा धाँजा फाटेर बन्दछ । अथवा नदीमा आउने पानीको छालले काटेर पनि गुफा बन्दछ । जे जसरी गुफा बने पनि गुफा बन्नु भनेको पृथ्वीको आन्तरिक परिवर्तन हो ।

           चाहे जसरी बने पनि हामी गुफाको संख्यामा धनी छौं । तर गुफाको बारेमा राज्यको तर्फबाट अध्ययन अनुसन्धान भने हुन सकेको छैन । अहिले आएर सबै जिल्लामा पहिचान बनिसकेका गुफाहरुलाई स्थानीय निकायबाट पर्यटन विकासको लागि केन्द्रविन्दु बनाउन खोजिएको छ । कतिपय जिल्लाका गुफाहरु पर्यटकहरुको लागि मनोरन्जन दिलाउनको लागि पनि विकास गरिएको छ । पूर्वको हलेसी,पोखराको महेन्द्र गुफा,पर्वत कुश्माको गुप्तेश्वरी जस्ता गुफाहरु उदाहरणको रुपमा लिन सकिन्छ । यस किसिमका हजारांैको संख्यामा गुफाहरु हाम्रो देशमा भेटिएका छन् । भेटिएका गुफाहरुलाई पहिचान दिनेखालको गतिविधि र प्रचार प्रसार भने हुन सकिराखेको छैन ।

           विशेष गरी बाह्य पर्यटकहरु आउने जिल्लाहरुका गुफाहरु आजभोलि आम्दानीको स्रोत बन्न थालेका छन् । पोखरा,पर्वत कुश्माका गुफाले पर्यटकहरुलाई मनोरन्जन मात्र होइन कतिपयलाई अध्ययनको विषय बन्न सकेको छ । ढिलै भए पनि जिल्लाका सरोकारवालाहरु र जिल्लाबासीहरुले गुफाको महत्व बुझ्न थालेका छन् । जिल्ला विकास,नगरपालिका र गाविसहरुले गुफा संरक्षण गर्नको लागि बजेटको व्यवस्था गर्न थालेका छन् । पछिल्लो समयमा आएर पर्यटन विकास बोर्डले पनि पर्यटकहरु पुग्ने जिल्लाका गुफाहरुलाई संरक्षण गर्न चासो देखाउन थालेको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई गुफाको अवलोकन गराउन सडक,पानी र आवासको राम्रो प्रबन्ध हुन जरुरी छ । यसपछि अर्को पक्ष हो सुरक्षा ! गुफामा जाने जो कोहीलाई पनि सुरक्षाको ग्यारेन्टी दिलाउन पर्दछ ।

  मितिः– २०७२ कार्तिक १३ गते दाङ

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *