Breaking News

जीवन आफ्ना लागि होइन रहेछ

यज्ञ दाहाल , वन विज्ञ
यज्ञ दाहाल , वन विज्ञ

यो हप्ता पत्यारै नलाग्ने जीवनकै त्रासदीपूर्ण समय गुँजारे मैले । गत शनिवारको दिन ९ वजे बिहान पछि वेलुका ५/६ वजेसम्मको अवधिमा मेरा मानसपटलमा खेलेका विचारका वेगहरूलाई शब्दमा रुपान्तरण गर्ने तागत मसंग छैन। “हृदय-घात” सुन्दै पनि यो शव्दले सवैको आङ शिरिङ तुल्याउँछ । तर धेरैको मृत्यु यसैले गराउँछ । यो अप्रिय शव्दसंग कसैको पनि कहिलै भेट नहोस् भन्दाभन्दै पनि गत शनिवार म स्वयंको जम्काभेट पो हुन पुग्यो । म हृदय-घातको चोटिले वेगमा थिल्थिलो हुन पुगे तर चमत्कार के भयो बाँचेर यी शव्दहरू कोर्दैछु । मेरो पुनर्जन्मै भएको हुनाले जीवनमा ठूलो शिक्षा र सिकाई प्राप्त भएकोले अरूका लागि बांड्नु लाभप्रद हुने ठानेँ र स्टाटसमा पोष्ट गरेँ ।

मैले भएसम्म दुवै छाक खानामा लसुनका ३/४ विजुला नित्य सेवन गर्ने आदत विगत ४ वर्षदेखि बसालेको थिएँ । यसो गर्नु स्वास्थ्यको लागि लाभदायक हुने कुरा बारम्बार छापामा आइरहन्थे । त्यो दिन पनि त्यै गरेँ जो नित्य गर्दथेँ । फरक कति थियो भने अन्य वेला प्राय विकासे लसुन खाइन्थ्यो तर त्यो दिन स्थानीय लसुन अलि बढी नै खाइएको थियो तर बढी भनेर धेरै त होइन अन्य दिनको तुलनामा ३/४ वटा बढी नै थियो । खाना खाइसकेपछि छातीमा नराम्री पोल्यो । तुलसा (श्रीमती) लाई यो कुरा भनेँ । उनको भनाईमा लसुनले छाती पोल्छ भन्ने थियो । मेरो छाती पोल्नुको सम्पूर्ण जिम्मा ९ वजेतिर खाएको लसुनलाई दिँदै १२ वजेसम्मको समय विताएँ । घरीघरी मुखबाट निस्कने डकारले केही आराम दिए पनि दुःख्न छोडेको थिएन । विजुलीको अनियमितताको कारणले त्यसदिनको न्युजमा म अपडेट थिइंन । १-२ दुई घण्टा केही नयाँ चीज पढ्ने आदत बसेको धेरै भइसकेको थियो । त्यसै हुनाले कुनबेला वत्ति आउँछ र अनलाईन खवर, फेसवुक बालमा नजर लाउने भन्ने हुटीहुटीले छातीको पोलाईलाई विर्स्याउने कोशिस गर्दैथियो । वत्ति आयो । फेसवुक खोलेँ । तर म एकछिन् अवाक भएँ । भर्खरै वन सेवा, जनरल फरेष्ट्री समूहको उपसचिवबाट अवकास प्राप्त मेरा अनन्य मित्र, सिनियर दाइ रामानन्द साहको “हृदयघात” को कारणले स्थलगत कार्यमा संलग्न भएको सिलसिलामा चितवनमा मृत्यु भएको पोष्टमा मेरा नजर टक्क धेरै वेर थामिए । केही विचलित भएँ । कहाँ भन्ने यो खवर ? अन्यमनस्क्य हुँदाहुँदै तुसलालाई सुनाएँ । अनि कृष्ण वस्ती दाईलाई खवर गरेँ। लास आजै आयो भने पशुपति जाने भन्नसम्म भ्याएँ । उहाँ उपत्यका बाहिर रहेकाले पशुपतिमा सामेल हुने असमर्थ्यता भन्दै गर्दा मेरो छाती नराम्ररी पोल्यो । पिसाव लाग्ला जस्तो, दिसा आउँला जस्तो भएर २/२ पटक ट्वाइलेट गएँ । पानी मखले उठाउन खोज्छु, देव्रेहात थरथर काँपेको महसुस भयो । मेरो मनले त्यति वेला ठ्याक्कै भन्यो तेरो हालत रामानन्द दाइ मृत्युको कारण जस्तै हुँदैछ ।
माथिल्लो तलामा हामी सुत्छौँ । तल्लो तलामा मेरा दुई छोराहरुको पढ्ने र सुत्ने कोठा छ । २/२ पटक छोराहरूको कोठामा गएँ तर मेरो हालत भन्न सकिनँ । तुलासा उनको आमा भेट्न नजिकै रहेको माइतीमा थिइनं । सानो छोरालाई मम्मीलाई बोला न भने । पछि के मनमा आयो भयो म आफैँ जान्छु भनेर ससुराली गएँ । त्यहाँ पुग्दा नपुग्दा जिउ थामिन गाह्रो भैरेहेको थियो । अस्पताल जानै पर्ने भयो भनेर तुलसालाई भनेँ । सुदीप देवकोटा (तुलसाको भदा) घरमै रहेछन् । उनको आमाले भिनाजुलाई अप्ठ्यारो भयो रे अस्पताल जानु पर्यो भनेर सुदीपलाई खबर गर्नु भयो । त्यसपछि हामी ३ जना (सुदिप- गाडी चलाएर, म र तुलसा) घरबाट निस्कियौँ । यतिवेलासम्म कुन अस्पताल भन्ने निधो थिएन । तुलसाले फ्याट्ट भनीहालिन “गंगालाल” जाऊ । साथमा मुस्किलले ५/७ हजार थियो । एटिएम मेसीनको तलासमा जानेकी सिधै गंगालाल जाने भन्दा सुदीपले फ्याट्ट भनीहाले, “२ हजार मसंग पनि छ, पहिला सिधै अस्पताल जाऔँ, जे पर्छ त्यहिँ निर्णय गरौँला ।“ यति भइसकेपछि हामी दिनको करीव ३ बजेतिर गंगालाल पुग्यौँ। हतार हतार म कपडा निकालेर इमरजेन्सीमा छिरेँ। केही क्षणमा थाहा लाग्यो स्थिति नाजुक भैसकेको छ, शल्यकृया जरुरी छ, के गर्ने ५ मिनेटमा निर्णय दिनुहोस् । यो संलग्न चिकित्सकको अन्तिम शव्द थियो । दुई दिदी भाइले निर्णय गरे, तीव्र काम गरेर प्राण बचाउने काम गर्नु पर्यो । खर्चको जोहो गरौँला तर जम्मा खल्तिमा करीव ९ हजार नगद थियो । कुरा बुझ्दा लगभग २ लाखभन्दा बढी र ३ लाखसम्म रकम लाग्ने कुरा गाइगुइँ सुन्दै थिएँ म । यति वेला भने मैले अब मरिन्छ कि क्या हो भन्ने मनमा कुरा खेलाउन थाले ।

मृत्युको छाँयाले मलाई पछ्याइरहेको थियो । दिमाग तीव्र चलेको थियो । मैलै पहिला आमा र तुलसालाई एकैपटक सम्झेँ । त्यसपछि सानो छोरा र ठूलो छोरा सम्झेँ । यदि मरियो भने के होला भनेर सोच्दा आमाभन्दा मलाई तुलसाको माया वढी लागेर आयो । यहाँ आलोचना हुन सक्छ तर म पुष्ट्याँइँ दिन्छु । रौतहटमा मेरो दाजुले आमालाई ज्यादै हेरविचार गर्नु भएको छ र उहाँको उमेर ८६ कटिसकेको छ । मेरो अनुपस्थितिमा पीडा भए पनि आमालाई ज्यून गाह्रो हुन्नथ्यो । दाजु हुनहुन्छ । तर पाँच दशक पनि नकाटेकी तुलसाको के हालत होला ? त्यसमा पनि नेपालमा एकल महिला भोगेको पीडा मेलै दिनदिनै मेरा आफन्तबाट अनुभूत गरेको छु । त्यसपछि जेठोभन्दा कान्छो प्यारो भन्नुहोला, विलकुलै होईन । ठूलेले भर्खरै सिभिल इंजिनियरिङमा स्नातक पूरा गर्यो । पढाईमा अव्वल छ । हुन त कान्छो पनि अव्वलै छ तर दाइजति होइन । सानोको पढाइ पूरा भएको छैन, त्यसैले उसको बढी याद आयो मलाई । यति सोच्दासोच्दै ट्रलीले अपरेशन थिएटरमा पुर्याउन लाग्यो । तुलसालाई वस्ती दाइलगायत कतिलाई चिन्छौ खवर गर, वांकी आफन्तलाई खवर गर्ने काम छोराहरूलाई अह्राए पनि हुन्छ नभए आफैँ जानेर खवर गर्लान भने ।

अपरेशन थियटरभित्र पुगेपछि मेरा आंखा रसाए । मुटु भक्कानियो । मृत्युको डरले कदापि पनि होइन तीनबटा कुरा छोरा र श्रीमतिलाई भन्न पाइनँ भनेर । छोराहरूलाई भन्न मनलागेको कुरा थियो, मेरो सद्गद र काजकृया १ दिनमै सिध्याई दिनु किनभने मर्ने त मरेर गैहाल्छ वाँच्नेले त्यो १३/१३ दिनसम्मको नौटंकी र वर्ष दिनसम्मको चोखोनिधो किन गर्ने ? र दोस्रो तिम्रा वचन र व्यवहारले संसार कुनै पनि मान्छेले दुःखको अनुभूति गर्न नपाउने गरी काम गर्नु भनेर भन्ने मनथियो । अनि तुलसालाई भन्न मन थियो अहिले जुन पहिरनमा छ्यौ, तिम्रो जीवनभरी त्यस्तै पहिरनमा सजिएर हिड्नु । यति कुरा भन्न पाइन भनेर थकथक लागिरह्यो । मलाई लागेको थियो अपरेशन गर्दा वेहोश बनाइन्छ । कुरा त्यसो होइन रहेछ । म होसमै छु । मुटुसंग सम्बन्ध राख्ने नली धमनीमा वोसोको कारणले रगतको आवागमनमा अवरोध भएको रहेछ । त्यो अवरोध हटाउन ढीलो भयो या नली फुट्यो भने मान्छेको मृत्यु हुनरहेछ । करीव आधा घण्टाको प्रयास पछि डाक्टरको प्रयास सफल भयो बधाइ दिए । मैले आंखा, मन र मुटुलाई एकैचोटी थामेर थ्याङस् भने ।

त्यसपछि जीवनले पुनर्जीवन पाएको अनुभत गरेँ। पछि थाहा पाएँ मित्रहरू इमानाथ पौडेल मन्त्रालयबाट केही रकमको जोहो गर्दै सिधै गंगालाल हान्निनु भएछ । मित्र विष्णु भण्डारी पनि आफूसंग जेजति नगद छ सो बोकेर अस्पतालमा छिर्नुभएछ । सुदिपको साथी कृष्णले पनि आवश्यक रकमको जोहो गरिदिनु भएछ । भजिता रमेश सिग्देल (तुलसाको जेठी दिदीको जेठो छोरा)ले पनि केही रकमको जोहो गरिदिएछन् । त्यसपछि सल्यकृयाको केही घण्टापछि मित्रहरू रामहरी पंत, शिवसापकोटा, इमानाथ, भाउजु (वस्ती दाइको परिवार), मेरो मामाको नाती, वुहारीहरू लगायत थुप्रै प्रीयजनसंग भेटगर्ने अवसर मिल्यो ।
भोलिपल्ट मन्त्रालयबाट धेरै सरहरु, मित्रहरु भेट्न आएको खबर पाएँ तर सिसियुमा सम्बन्धित व्यक्ति बाहेक कसैको पनि आवागमन वन्देज भएकोले बाहिरबाटै शूभेच्छा प्रकट गरी फर्किनु भएछ । चिकित्सक डा. चन्द्रमणि अधिकारी लगायतको टोली यो अपरेशनमा सामेल हुनुहुन्थ्यो । अरूको मैले नाम सम्झन सकिन त्यसका लागि क्षमाप्राप्ति छु । त्यस्तै धेरै मित्रको शुभकामना र शुभेच्छा प्राप्त भएको छ, सवैको मेलै नाम लिन सकिन त्यसको लागि माफी चाहान्छु ।

यो पाँच दिनमा मलाई के अनुभूत भएको छ भने पाँचदिने संघनभूत धेरै मूल्य पर्ने तालिमको आवासीय कोर्समा म सामेल थिएँ । जसले जीवनमा धेरै कुरा सिकाएको छ । ती मध्ये प्रमूख कुरा भनेको जीवन आफ्ना लागि होइन रहेछ । जीवन सामूहिक हुँदोरहेछ । त्यसलै सार्थक जीवनका लागि अनुशासन प्रथम कुरा । त्यो भनेको आहार विहारमा ध्यान दिने। सुर्ती र चुरोट छुदैनछुने, चारखुट्टेको मासु खादै नखाने, नरिवल र यसको तेल कहिले पनि नखाने, नियमित व्यायाम गर्ने, शारीरिक तौललाई ठीक्क राख्ने । मेरो जीवनका पछाडि धेरै जीवन निर्भर छ भनेर सोच्ने ।

२२ पौष, २०७२

(यज्ञ दाहाल को फेस बुक बाट )

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *