राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तरगत नदी प्रणालीको लागि एकिकृत योजना तर्जुमा गोष्ठी तिनाउ र कञ्चन नदी प्रणलीमा आधारित रहि एकिकृत योजना तर्जुमा गर्दै दोभानमा सम्पन्न भएको छ । सहायक वन अधिकृत कृष्ण प्रसाद ज्ञवालीको सञ्चालन र रेञ्जर यमलाल पोखरेलको स्वागतमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथी पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशनालयका उपनिर्देशक खडानन्द शर्माले चुरे संरक्षणको लागि तल्लो तटीय र माथिल्लो तटीय उपभोक्ताहरु बिच समन्वय जरुरी रहेको भन्दै संंरक्षण मुखि योजना निर्माणमा जोड दिनुभयो । जिल्ला वन अधिकृत प्रकाश लम्सालले वन मासेर कोहि धनी हुन नसक्ने भन्दै विपन्न वर्गको जिविकोपार्जन र सामुदायिक सम्बृद्धिको लागि समेत चुरे वन संरक्षणको आवश्यकता रहेको वताउनु भयो । जिल्ला भू संरक्षण अधिकृत लोकनाथ सापकोटाले चुरेमा प्राकृतिक श्रोतको दोहन नभई बुद्धिमतापूर्ण उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम,जिल्ला वन कार्यालय, जिल्ला भू संरक्षण कार्यालय, सामुदायिक वन समन्वय समिती दोभान,सेक्टर वन कार्यालय, बिभिन्न ईलाका वन कार्यालय, गाउँ विकास समितीका सचीवहरु समेत ३० जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । नेपाल सरकार बाट बिभिन्न निकायहरुलाई प्राप्त कार्यक्रमहरुलाई निरन्तरता दिँदै केहि सृजनशिल योजनाहरु समेत आगामी बर्षको लागि प्रस्ताव गरिएको छ । यस्ता कार्यक्रमहरुमा एक सामुदायिक वन एक संरक्षण पोखरी अभियान, वन्यजन्तुलाई पानी पिउने पोखरी निर्माण, खोला किनारमा बाँस रोपण अभियान, सिमसार क्षेत्र संरक्षण, जैविक बिबिधता संरक्षण, चुरे वन उद्यम कार्यक्रम लगायत रहेका छन् । कार्यक्रममा पाल्पा जिल्लामा तेजपात उद्योगको सम्भाब्यता अध्ययन गर्न उद्योग मन्त्रालयमा बिज्ञको माग गर्ने समेत निर्णय गरिएको छ ।
(यमलाल पोखरेल बाट)