Breaking News

प्रकृतिवाट सिक्न सक्यौ भने त्यो दिगो र वढी भर पर्दो हुन्छ- उप महानिर्देशक डा. महेश्वर ढकाल

maheswor

(नेपाल वन सेवा ,ने.पा.एंड वा.ला.समूह ,रा.प.प्रथम श्रेणी (प्रा.) सहसचिब पदमा

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका नवनियुक्त उप महानिर्देशक  डा.  महेश्वर ढकाल
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका नवनियुक्त उप महानिर्देशक डा. महेश्वर ढकाल

आन्तरिक प्रतिस्पर्धा तर्फ लोकसेवा आयोग वाट लिईएको परिक्षामा सफल भै २०७२ फाल्गुन ४ को लोकसेवा आयोगको सिफारिस अनुसार वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा उप महानिर्देशक ( प्राबिधिक) सह सचिव पदमा डा.  महेश्वर ढकाल नियुक्त हुनु भएको छ |पुतली बजार -८ स्यांन्जा घर भएका डा. ढकालसंग     वनबिभाग , भू – संरक्षण बिभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्य गरेको अनुभव समेत रहेको छ | नेपाल तथा जापान को बिस्व बिद्यालय वाट शैक्षिक योग्यता हासिल गर्नु भएका  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका नवनियुक्त उप महानिर्देशक  डा.  महेश्वर ढकालले वन क्षेत्रको आर्थिक सम्भावना र आफ्नो भूमिका का सम्बन्धमा वन संचारलाई दिनु भएको अन्तर्वार्ता )

१ तपाइले वन क्षेत्रमा देख्नु  भएको सम्भावना के हो ?

 वन क्षेत्र एउटा नविकरणीय प्राकृतिक श्रोत हो र यसले थुप्रै वस्तु र सेवाको उत्पादन गर्ने गर्दछ | हाल नेपालको ४४% भन्दा बढी क्षेत्र वन क्षेत्रले ढाकेको र हाम्रो जस्तो गरिव र अल्पविकसित राष्ट्रका लागि वन क्षेत्र एउटा वरदान नै मान्नुपर्दछ | यसले मानिसको जन्मदेखि मृत्यू हुने वेलासम्म आवस्यक पर्ने सबै प्रकारका आवस्यक्ताहरुको सम्बोधन गर्ने गर्दछ | वनले व्यक्तिको आधारभूत आवस्यकता देखि समग्र राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुराउदै आएको छ | वन क्षेत्र आफैमा बहु-आयामिक छ | काठ दाउराको उत्पादन, जडिबुटी उत्पादन र प्रशोधन,  खाद्यान्न       वन्यजन्तु फार्मिंग,  प्राकृतिक सौन्दर्य र पर्यापर्यटन,  वनमा आधारित उद्द्योग ब्यबसाय,  अध्ययन अनुसन्धान, पारिस्थिकीय सेवाहरुको भुक्तानी,  कार्वन संचिति र ब्यापार आदि वन क्षेत्र अन्तरगत सम्भावानाका क्षेत्रहरु हुन् |

२ वन क्षेत्रमा मैले केहि गर्छु; गर्न सक्छु भन्ने मनोबल कसरि जुटाउनु भएको छ ?

मैले माथि भने झैँ वन धेरै नै सम्भावाना भएको बहुआयामिक क्षेत्र हो | यस्तो क्षेत्रमा एक वा दुई जनाको मात्र पहलले केही गर्न सकिन्छ जस्तो मलाई लाग्दैन | एक वा दुई जनाको प्रयासले केही गर्न सकियो भने पनि त्यो सानो दायराको हुने छ | त्यसले खासै अन्तर ल्याउला जस्तो मलाइ लाग्दैन | वन क्षेत्रमा मनोवल उच्च पार्नु वा राख्नु भनेको टिमवर्क र सह-अस्तित्वको भावना नै हो | जसले पद्दतिको विकास गर्दछ र राष्ट्रको विकासलाई मार्ग निर्देशन समेत गर्न सक्दछ | वन क्षेत्रको व्यबस्थापनलाई विज्ञान र विधिको शासनसँग आवद्ध गर्न सकियो भने म लागायत सम्पूर्ण कर्मचारीको मनोवल उच्च हुन्छ जस्तो मलाई लाग्दछ |

३ तपाइले आफ्नो कार्य क्षेत्रमा के कस्तो परिवर्तन, सुधार र बिकाशको परिकल्पना गर्नु भएको छ ?

वन, वन्यजन्तु र जैविक-विविधताको संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने कार्य आफैमा गहन र व्यापक छ | यो क्षेत्र नेपाली जनताको जनजिविका र राष्ट्रको समग्र आर्थिक सम्मुनति सँग गासिएको क्षेत्र पनि हो | वन क्षेत्रको समग्र संरक्षण, ब्यबस्थापन र सदुपयोग अर्थात यस क्षेत्रको सुधार, परिवर्तन र विकास एक वा  दुई जनाको प्रयासले मात्र हुन्छ जस्तो मलाई लाग्दैन | यसका लागि वन तथा भू-संरक्षण मन्त्रालयको स्पस्ट नीति तथा कार्यक्रम,  वन मन्त्रालयमा नै कार्यरत कर्मचारीको एकता, इमान्दारिता र लगनशीलता तथा वन क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरकारी एवं गैर-सरकारी संघ-संस्थाहरु, दात्री निकाय र नागरिक समाज वीच सहकार्य समग्र वन क्षेत्रको विकासको लागि पुर्व शर्त हुन् | भर्खरै मात्र नेपालको संविधान कार्यान्वयनमा आएको परिप्रेक्षमा संविधानको भावानासँग मेल खाने गरि वन क्षेत्रका ऐन नियममा समसामयिक संशोधन र सुधार गर्नु, सो-अनुरुपको संगठनिक संरचनाको खाका तयार गर्नु र स्वीकृत गर्नु तथा सोहि अनुरुप कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्नु अहिलेको आवस्यकता हो |

४ सहकर्मीहरुबाट के कस्तो अपेक्षा राख्नु भएको छ ?

सहकर्मीहरुवाट एक आपसमा सह-अस्तित्त्व स्वीकार गरि सहकार्यको अपेक्षा गरेको छु | मैले अगाडि भने जस्तै वन क्षेत्र आफैमा ब्यापक क्षेत्र हो र यहाँ अनेकौ सम्भावानाहरु छन् | हामी वन कर्मि अर्थात सहकर्मी साथीहरु सह-अस्त्तित्वको भावानालाई आत्मसाथ गरि एक आपसमा सहयोग, समन्वय, साझेदारी, समझदारी र सहकार्य गरि आधुनिक प्रविधि र सृजनशील विचार लिएर अगाडि बढ्यौ भने नेपालको वन क्षेत्रलाई नेपाली जनताको  समृद्धिको एक प्रमुख आधार बनाउन सकिने कुरामा म पूर्ण विश्वस्त छु |

५ तपाईबाट अरुले के सिक्ने ?

यो त मैले भन्दा यहाहरुले नै भन्ने कुरा हो | वन विज्ञान एउटा व्यवहारिक विज्ञान हो | यो परिवर्तनशील छ तर सधै बरावर मात्रा र गुणस्तरमा परिवर्तन हुदैन | यसको नियमित प्रक्रियालाई जीवन्त राख्नु हामि सबैको कर्तव्य र धर्म दुवै हो | हामी सबैले एक आपसमा सिक्ने सिकाउने त छदैछ, त्यो भन्दा पनि प्रकृतिवाट सिक्न सक्यौ भने त्यो दिगो र वढी भर पर्दो हुन्छ जस्तो लाग्दछ |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *