Breaking News

गोलभेंडाको खेती -सिजनमा ३ देखि ४ लाख र अफसिजनमा ६ देखि ७ लाख रुपैयाँसम्म आम्दानी

12804880_963385287084500_21446217657517494_nलमजुङ, एक कृषकले यहाँ लटरम्मै गोलभेंडा फलाएका छन् । हेर्दैमा रहरलाग्दो गरी फलाएको गोलभेंडाबाट उनले वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।बाँझेखेत १, खासुरका ३२ वर्षीय दूधप्रसाद घलेले बेसीसहर नजिकै चनौटेफाँटमा ९ रोपनी जग्गा भाडामा लिएर गोलभेंडा लगायत तरकारी खेती गरेका हुन् ।उनले २ वर्षदेखि आम्दानी लिइरहेका छन् । ‘मौसमी र बेमौसमी गोलभेंडा दुवै खेती गर्दै आएको छु,’ उनले भने, ‘मौसममा भन्दा बेमौसममा आम्दानी बढी हुन्छ ।’ गत मंसिरमा लगाएको गोलभेंडा लटरम्मै फलेको उनले बताए ।

‘सिजनमा ७ र अफसिजनमा ८ क्विन्टल आम्दानी हुन्छ,’ उनले भने । सिजनमा ३ देखि ४ लाख र अफसिजनमा ६ देखि ७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । सिजनमा खुद्रा ६० र होलसेल ४० रुपैयाँ प्रतिकिलो साथै अफसिजनमा खुद्रा ८० र होलसेल १ सय रुपैयाँ प्रतिकिलोमा गोलभेंडा बिक्री हुने उनको भनाइ छ ।

घले एग्रो फार्म स्थापना गरेर २ वर्षअघि घलेले ८ लाख रुपैयाँ लगानी गरेर गोलभेंडासहितका तरकारी खेती थालेका हुन् । गत वर्ष कृषि कार्यालयले युवा स्वरोजगार कार्यक्रमको ४० हजार अनुदानबाहेक उनले कहीँ कतैबाट सहयोग लिएका छैनन् । उनीसँग स्नातकोत्तर (डिग्री) पासको सर्टिफिकेट छ ।

उनलाई पत्नी २८ वर्षीया मनिताले सघाएकी छन् । उनले पनि स्नातकोत्तर पास गरेकी छन् । आफैँले फलाएको गोलभेंडा र तरकारी बिक्री गर्न दूधप्रसादले बेसीसहरको हाइस्कुल चोकमा तरकारी पसल सञ्चालन गरेका छन् । पसल हेर्ने जिम्मा पत्नीलाई छ ।

‘रातदिन खटिएको छु । विदेशमा पलायन भएका युवालाई आफ्नै गाउँमा केही गरेर देखाऊँ भन्ने अठोट छ,’ उनले भने । सहयोगका लागि उनले नजिकैका रमनसिंह आलेमगरलाई राखेका छन् ।

‘काम हेरेर कहिलेकाहीँ दैनिक ५ देखि १० जनासम्म खटिनुपर्छ,’ उनले भने । वार्षिक ६० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको जग्गामा उनले ८ वटा टनेलमा गोलभेंडा फलाएका छन् । अझै ७ वटा थप्ने उनको योजना छ ।

गोलभेंडा साथै वर्षभरि उनले घिरौंला, चिचिन्डो, करेला, फर्सी, लौका, भिन्डी, रामतोरिया, घिउसिमी, साग, मुला, गाजर, बन्दा, काउली, ब्रोकाउली, मटरकोसा, केराउ, काँक्रो, खुर्सानीलगायत फलाउँदै आएका छन् । गोलभेंडाका लागि इजरायली (हयाङ्गिङ र मल्चिङ) प्रविधि अपनाएका छन् ।

‘झार उम्रिन नदिन, माटोको चिस्यान र मलको रसिलोपन जोगाउन जमिनमा प्लास्टिक बिछ्याएको छु,’ उनले भने, ‘बढ्दै गएको बोटलाई डोरी र तारमा झुन्ड्याएर गोलभेंडा फलाएका छौँ ।’ उनका अनुसार जेठमा लगाएको बेमौसमी गोलभेंडाले कात्तिकसम्म फल दिन्छ । मंसिरमा लगाएको मौसमी गोलभेंडाले चैतसम्म फल दिन्छ । उनले गोलभेंडा खेतीकै बीचबीचमा अलैँचीको बिरुवा पनि उमारेका छन् । गाउँमा पनि उनले अलैँचीको ब्याड जमाएका छन् ।

विद्यार्थी राजनीतिबाट आएका घले एमालेनिकट अनेरास्ववियुको जिल्ला अध्यक्ष, गण्डकी अञ्चल सचिव, तमु विद्यार्थी छोंज धिँको केन्द्रीय अध्यक्ष, केन्द्रीय कार्यालय प्रमुख हुँदै घले अहिले एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक अध्ययनसंगै अनेरास्ववियु गण्डकी अञ्चल सचिव हुँदा ०६४ असोज ७ गते तत्कालीन नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र तिनका पार्टी कार्यकर्ताले उनलाई मरणासन्न हुनेगरी कुटपिट गरेर सेती नदीको किनारमा फालेको उनी सम्झन्छन् । उनी त्यतिबेला छात्राबासमा बस्थे ।

‘कुटपिटपछि मर्‍यो भनेर साथीहरूले भीरबाट फालिदिएछन् । पछि शिक्षण अस्पताल महाराजगन्जमा रहेको थाहा पाएँ,’ उनले भने, ‘हेलिकोप्टर मार्फत काठमाडौं लगिएको रहेछ । भाग्यले बाँचियो ।’ शरीरमा चोटका डाम रहेका उनको माथिल्ला ६ र तल्लो ६ गरी १२ वटा नक्कली दाँत राखिएका छन् । ‘चिसो पर्नासाथ अहिले पनि टाउको र ढाड दुख्छ,’ उनले भने ।

बुवा रनप्रसादले घरमा तरकारी खेती गर्ने र गाउँमै बिक्री गरेकाले पनि उनमा तरकारी खेती गर्ने जाँगर पलाएको हो । ‘हाम्रोमा पढे–लेखेका र राजनीति गरेका मान्छे माटो छुनै हुन्न भन्ने मानसिकता हावी छ,’ उनले भने, ‘परिवार धान्न र राजनीतिमा अडिन पनि केही न केही गर्नुपर्छ भन्ने मेरो सोच हो ।’

– आश गुरुङ, लमजुङ (राजेन्द्र देवकोटा  को फेसबुक बाट )

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *