Breaking News

नेपाललाई सँधै स्थिर राख्न चीन र भारत बीच संतुलित सम्वन्ध कायम रहिरहनसक्नु पर्छ

दीर्घराज प्रसाई
दीर्घराज प्रसाई

 

 

नेपाल, चीन र भारत बीचको मैत्री सम्वन्ध धर्म, संस्कृति, ब्यापार तथा वैवाहिक आधारमा विकसित हुँदै आएकोछ । चीनका सम्राट स्रोङचन गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको वैवाहिक संवन्ध कायम भएको अवस्था र हिमवतखण्ड नेपालको बढ्दो प्रतिष्ठाबाट प्रभावित भएर भारतमा गुप्तकालका राजाहरु नेपालका लिच्छवि राजाकी छोरीसँग विवाह गरेर आफ्ना मुद्राहरुमा ‘लिच्छवय’ ‘लिच्छवि कन्या दौहत्री’ उल्लेख गरेका थिए । चीन तथा भारतसँग नेपालको सांस्कृतिक मान्यता हिन्दु तथा बौद्ध धर्म पनि सुमधुर संवन्धका कारक बन्दै आएका छन् । पौराणिककालदेखिका अनेकौं प्रमाणित घटनाहरुको अध्ययन गर्दा नेपालको सार्वभौमसत्ता र प्रतिष्ठालाई चीन तथा भारतबर्षबाट सम्मान हुँदैआएको छ । बाह्रौं शताब्दिमा चीनका बादशाहको आग्रहमा नेपालबाट अरनिकोलाई झिकाएर स्तुप तथा प्यागोडा शैलीका दरबार बनाएको र महेन्द्र मल्लको समयकालदेखि भोटमा नेपालको मुद्रालाई चलनचल्तीमा ल्याएको थियो । यी तथ्यहरुको कारणले एशियामा नेपालको आफ्रनै पहिचान र प्रतिष्ठा स्थापित भएको छ । अहिले सम्म बेइजिङमा अरनिकोबाट निर्मित बौद्ध गुम्बालाई बडो सम्मानकासाथ राखिएको छ । त्यस्तै बेइजिङको लामा टेम्पल एउटा सुजन्जित बौद्ध स्थल हो । यसक्षेत्रको बौद्ध मंदिर  र त्यो क्षेत्रमा नेपालको प्यागोडा शैलीका भवनहरु ठडिएका छन् । त्यसक्षेत्रमा ‘ओम मणि पद्ये हुम्’ को मंन्त्र मंदिर भित्र र मंदिर आसपासको सडक सडकमा बजाउने गरिन्छ । २०७० साल चैत्रको दोस्रो हप्तामा चीनको भ्रमणको अवसरमा उक्त मंदिरहरुको अवलोकन गर्न पाउँदा मलाई ठूलो गौरवको अनुभव भयो । अरनिकोको शालीक समेत राखिएको र अरनिकोबाट निर्मित मंदिर अगाडि नेपाली,चीनिया, अंग्रेजी भाषाको शीलालेख समेत राखिएको छ ।

नेपालको परराष्ट्र नीतिको सफलता भनेको चीन र भारतसँग संतुलित संवन्ध कायम राख्नु हो । शान्तिपूर्ण सहअस्तित्वको कदर यसैबाट हुन्छ  । पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगा वीचको तरुल’ भनेझै हाम्रो परराष्ट्र नीतिको आधारशीला पनि यस्तै छ । नेपाल भूपरिवेष्टित मुलुक हो । भूपरिवेष्टित मुलुक भएपनि जन्मकालदेखिनैं यसले आफ्नो सार्वभौमसत्तालाई सौदावाजी गर्न कसैलाई दिएको छैन । नेपाल, चीन र भारतबीचमा सुमधुर मैत्री संवन्धको आधार धर्म, संस्कृति नैं बनेको हो । किरातकालदेखिनैं नेपालको आर्थिक, सामाजिक र धार्मिक जीवनकोक्रम बसिसकेको थियो भन्ने कुरा बुद्धग्रन्थ ‘मूल सर्वास्थिवाद विनय संग्रह’ तथा ‘कौटिल्यको अर्थशास्त्र’ बाट थाहा हुन्छ । नेपालका विभिन्न राजवंशहरुले भोट,चीन, भारत र अन्य देशहरुसँग ब्यापारिक संवन्ध कायम गरेको र भारतबर्षमा अयोद्याका युवराजा रामको बिवाह यसक्षेत्रका जनक राजा की छोरी सीतासँग भएको थियो । महान अशोक वौद्ध धर्मप्रति आस्थावान भएर वुद्धको जन्मथलो लुम्विनी आएका र आफ्नी छोरी चारुमतिको बिवाह नेपालका राजा देवपालसँग गराएका थिए ।

एशियामा नेपाल र भारतखण्ड दुई यस्ता हिन्दु राज्यहरु हुन् जस्को प्राचीन गौरव र प्रतिष्ठाको वर्णन विश्वव्यापीरुपमा पाइन्छ । तर दक्षिण तर्फको राजनीतिक परिवर्तनको प्रभावबाट नेपालमा सर्वाधिक असर पर्ने गरेको छ । अग्रेजहरु अन्य मुलुकमा पस्दा पहिलो ब्यापार, दोस्रो बाइबल, तेस्रो बुलेट लिएर पस्ने गर्थे । नेपालमा पनि ब्यापार, बुलेट प्रयोग गर्नुभन्दा बाइबल र पैसालाई केन्द्बिन्दु बनाएर प्रवेश गरेको थियो । नेपालमा आफ्नो प्रभूत्व कायम गर्न सक्ने नदेखेता पनि भोटसँग ब्यापार बढाउने निहुमा नेपालमा अपत्यक्ष रुपमा आफ्ने प्रभूत्व जमाउन छोडेको थिएन । अंगे्रजहरु ठंडी मुलुकमा बस्न चहाने भएकाले नेपाल जस्तो स्वस्थकर ठाँउको खोजीमा थिए । त्यसकारणले नेपालका स–साना राज्यहरुलाई कब्जा गर्न अंग्रेजहरुले आँखा लगाइरहेको थियो । यसअवस्थामा पृथ्वीनारायण शाहको विशाल नेपालको एकीकरणको महान यज्ञलाई समाप्त पार्न कान्तिपुरका राजा जयप्रकाशलाई सघाउन कर्नेल किल्लोकको नेतृत्वमा २४०० अंगे्रज पल्टन पठाएको थियो । तर अंग्रेजी पल्टनलाई पृथ्वीनारायण शाहका फौजले आक्रमण गरेर भगाएका थिए । ठूलो प्रयत्नबाट ५४ ससाना राज्यहरुका एकीकृत विशाल नेपालको सिर्जना भयो । तर पनि अंगे्रजहरुले नेपाल माथि गिद्धे नजर लाउन छोडेनन् । यूरोपमा नेपोलीयनको पतन पछि अंगे्रजले निहु खोजेर नेपाल माथि सन् १८१५मा आक्रमण गरिछाडे । नेपालको पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मको भूभाग कब्जा गरेता पनि आफ्नो धर्म र संस्कृति बचाएर नेपाल सार्वभौम राष्ट्रको रुपमा रहिरह्यो ।

भारत स्वतन्त्र बनाउन नेपालीहरुले पनि रगत पसिना बगाएको इतिहास छ । नेपाली जनता र भारतीय जनता वीचमा गहिरो संवन्ध कायम छ । चीन र भारत नेपालको लागि नजिकका राष्ट्र भएकाले अव नेपालले भारत लगायत चीनसँग पनि पारवहन र बाणिज्य संवन्धलाई बिस्तार गर्न सक्नुपर्छ । चीनमा निर्माण भइरहेको रेल्वे मार्गलाई उपभोग गरेर बाणिज्य र पारवहन सुविधा प्राप्त गर्नसक्ने उपायहरुको मैत्रीपूर्ण वार्ता र संधिको आधारमा टुंगोमा पुग्नुपर्दछ । चीनिया रेल्वेमार्ग ल्हासा हुँदै खासाबाट काठमाण्डौं प्रवेश भएपछि नेपाल र चीनको सुमधुर सम्वन्धको कारणले नेपाल भारतवेष्ठित बनेर सँधै बस्नुपर्ने छैन । अर्कापट्टी ल्हासादेखि केरुङसम्म ब्रम्हपुत्र नदीको किनारै किनार लगभग एकहजार किलोमिटर लामो रेलमार्ग निर्माण हुनु त्यत्रिकै आवश्यकता छ । यसमा नेपाल र चीन दुबै राष्ट्रको सोचाई केन्द्रीत हुनपर्दछ । चीनको केरुङबाट नेपालको रसुवागढी २०।२२ किलोमिटर, लासाबाट केरुङसम्म आउने लाइनबाटै तिब्बतको लाज्यबाट संखुवासभाको किमाथांका आउन करीव सय–डेडसय किलोमिटर पर्ला, त्यस्तै सोही लाइनबाट खासा आइपुग्न करीव ५० देखि ७५ किलोमिटर र खासाबाट तातोपानी हुँदै काठमाण्डौं आउन १३० किलोमिटर पर्ला, केरुङसम्म  रेलमार्ग जोडिएपछि सोही रेलमार्गको बिस्तार हुँदै काजिकिस्तान तथा रुसमा सजिलै पुग्न सक्छ । त्यस अवस्थामा काजिकिस्तान र रुसबाट पेट्रोलियम पदार्थ तथा उज्वेगिस्तानबाट ग्यास ल्याउने र  नेपालमा उत्पादित चीजहरु चीन तथा यूरोपियन देशहरुमा पुया¥उन र रुस तथा यूरोपियन देशहरुबाट असंख्यौं पर्यटकहरु नेपालमा आउन अत्यन्तै सुगम हुनजाने हुन्छ । नेपाल, चीन र यूरोपियन् राष्ट्रहरु बीचमा आवतजावतमा अत्यन्त सुगम बन्नेछ । यसले सावृभौम राष्ट्रको हैसियतले नेपालले चीन र भारतसँग संतुलित सम्वन्ध कायम गर्न सक्छ । यसको लागि नेपाली र चीनीया पक्षको बीचमा उच्च स्तरीय समिति गठन गरेर युगको परिवर्तनमा दुबैपक्षको त्याग र सक्रियताको खाँचो छ ।

चीनसँग नेपालको प्रारम्भदेखिनैं गहिरो सम्वन्ध कायमहुँदै आएकोले अहिलेसम्म त्यसले दिगो रुप लिएकोछ । नेपालले पनि चीनको सार्वभौम मान्यतालाई खल्बलाउने काम गरेको छैन । सन् १९७१ मा चीनले संयुक्त राष्ट्र« संघको सदस्यता लिन नेपालले राम्रो भूमिका खेलेको थियो । चीनले पनि नेपालको आर्थिक विकासको निम्ति धेरै सहयोग उपलब्ध गराएको छ । राजनीतिक परिवर्तनको क्रममा २०४८ सालमा गिरिजाप्रसाद कोइराला चीनको भ्रमणको समयमा चीन भ्रमण गर्ने राजा महाराजाहरु र प्रधानमंत्रीहरु सबैको चर्चा गरेता पनि राजा महेन्द्रको २०१८ साल र प्रधानमंत्री टंकप्रसाद आचार्यको २०१३ सालमा सम्पन्न भ्रमणको नाम लिन नचाहेका रहेछन् । तर नेपाल चीनको मैत्री सन्दर्भको कुरा उठाउँदा २०१३ सालमा पहिलो सरकार प्रमुख टंकप्रसाद आचार्य र २०१६मा बीपी कोइरालाबाट भएको हुन भने वि.सं. २०१८ सालमा पहिलो राष्ट्रपूमुखको रुपमा चीनको राजकीय भ्रमणमा जाने राजा महेन्द्र हुन् । दुबै प्रधानमंत्री र राजा महेन्द्रबाट आधुनिक चीनमा सुमधुर मैत्री संवन्धको जग बसालिएको कुरालाई बिर्सन सकिदैन । नेपालमा २०४६ सालमा वहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि प्रधानमंत्री गिरिजाप्रसाद कोइराला लगायत प्रधानमंत्रीको हैसियतबाट नेकमा (एमाले) का नेता मनमोहन अधिकारीको औपचारिक भ्रमण लगायत त्यसपछिका सरकार प्रमुख तथा मंत्रिस्तररीय प्रतिनिधि मण्डलको भ्रमणबाट चीन र भारत बीचमा सुमधुर मैत्री संवन्ध कायम हुन सकेको छ । तथापि राजनीतिक परिवर्तनका सन्दर्भमा कहिले कहिले कहींकतै कुनै अफवाह देखापरेता पनि नेपालको मूल गन्तव्य हो कि जुनसुकै पार्टीको सरकार भएता पनि नेपालले चीन तथा भारतसँग संतुलित तथा सुमधुर संवन्ध कायम  राख्न सक्नु । चीन र भारतसँगको संतुलित मैत्री संवन्ध नैं नेपालको परराष्ट्र नीतिको सफलता हो ।

Email: dirgharajprasai@gmail.com

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *