Breaking News

वनमन्त्रीलाई सुझावसहित मन्त्रालयमा स्वागत

bansanchar 2काठमाडौं, भदौ १० । नवनियुक्त वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीलाई मन्त्रालयमा शुक्रबार स्वागत गरिएको छ । मन्त्रालय अन्तर्गतका विभिन्न शाखा तथा उपशाखाका र विभाग प्रमुख तथा प्रतिनिधिहरु र मन्त्रालयका कर्मचारीद्वारा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी नयाँ मन्त्रीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा नवनियुक्त मन्त्री भण्डारीले महाशाखा र विभागका प्रमुखहरुलाई विभिन्न निर्देशन दिएका छन् भने स्वागतकर्ताहरुले पनि आफ्ना समसामयिक सुझावहरु मन्त्रीसमक्ष पेस गरेका छन् । मन्त्रालयले गर्ने कामकारवाहीमा कुनै आग्रह वा पूर्वाग्रहरहित हुनुपर्ने, कुनैपनि काम गर्दा गरिने लगानी उच्च प्रतिफलमुखी हुनुपर्ने र विद्यमान समस्याको रुपमा रहेको डढेलो नियन्त्रणमा प्रभावकारी उपायहरु अवलम्वन गर्नुपर्ने मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।
त्यस्तै मन्त्रालयका सांगठनिक संरचना र कार्यशैली व्यवस्थित र जनमुखी हुनुपर्नेमा पनि मन्त्री भण्डारीले जोड दिएका छन् । उनले अतिआवश्यक कामबाहेक विदामा नबस्न र विद्यमान समस्या समाधानतर्फ केन्द्रित हुन पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नवनियुक्त मन्त्रीले मातहतका प्रमुख तथा कर्मचारीहरुलाई आवश्यक निर्देशन दिदै गर्दा उनीहरुले पनि मन्त्रीसमक्ष सुझावको पोको थमाएका छन् ।

यस्ता छन्, नयाँ मन्त्रीलाई दिइएको १७ बुँदे सुझाव
प्रचण्ड सरकारको वनमन्त्रीको रुपमा मन्त्रालयमा कार्यभार सम्हालन आएका वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीलाई मन्त्रालयका तर्फबाट वैदेशिक सहयोग समन्वयन महाशाखाका प्रमुख रेशमबहादुर डाँगीले १७ बुँदे सुझाव पेश गरेका छन् । नयाँ मन्त्रीले वन प्रशासनलाई नतिजामुखी वनाउन तत्काल सुधार गर्नुपर्ने विषयगत क्षेत्रहरुका आधारमा उल्लेखित सुझावहरु दिएका छन्–
क) काठमा मुलुकलाई आत्मनिर्भर वनाई काठ आयातलाई ५ वर्ष भित्र शून्यमा ल्याउन उत्पादन योजना तर्जुमागरी कार्यन्वयनमा ल्याउनु पर्ने ।
ख) राष्ट्रिय उत्पादन योजनालाई कार्यसम्पादना करारसँग एकिकृत गरी वनको दिगो व्यवस्थापन कार्यक्रमलाई विस्तारगरी काठ आपूर्तिमा सुधार,रोजगारी अवसर र राजस्वमा वृद्धिगर्न करार सम्झौताको चौमासिक समिक्षा गर्ने परिपाटी बसाउनु पर्ने ।
ग) मुलुक संघीयतामा प्रवेश गरेकोले सो अनुरूप मन्त्रालयाको कार्यक्षेत्र विश्लेषण र सांगठनिक स्वरूप तयार गर्नुपर्ने ।
घ) व्यावसायिक कबुलियती वनमा देखिएका प्रक्रियागत जटिलतालाई सहजिकरण गर्नुपर्ने ।
ङ) कृषिवन (जडिबुटी खेती) प्रवर्धन गर्न निीक्षेत्रसँग सहकार्य र समन्वयनमा प्रवर्धनात्मक कार्यक्रम तर्जुमा गर्नुपर्ने ।
च) कार्बन लगायत वनमा आधारित पारिस्थिकीय सेवाको भुक्तानीको लागि संस्थागत संरचना, बजार व्यवस्थापन र नियमको व्यवस्था गर्न अवधारणा पत्र तयार गर्नुपर्ने ।
छ) चुरेक्षेत्रको दिगो संरक्षण र व्यवस्थापनका लागि एकिकृत  व्यवस्थापन योजना (चुरेको गुरु योजना) ले प्रस्ताव गरेको संस्थागत संरचना र कार्यन्वयन पद्धती बारे मन्त्रालयमा समिक्षा गरी समन्वय र सहकार्यमा सुधार गर्नुपर्ने ।
ज) कार्यसम्पादन करार सम्झौताको मूल्याङ्कनलाई अविलम्ब समिक्षागरी सो को आधारमा कार्यलय प्रमुखको सरुवा व्यवस्थापन गर्ने । आवश्यक परेमा मन्त्रालयको सरुवा मापदण्डलाई पुनरावोलकन गर्नुपर्ने ।
झ) काठ, दाउरा उत्पादन र आपूर्तिलाई व्यवस्थापन गर्न विद्यमान निर्देशिका, कार्यविधि, तथा मार्गदर्शनमा सुधार गर्न समय तालिका सहितको कार्ययोजना वनाई नियमित समिक्षाको व्यवस्था गर्नुपर्र्ने ।
ञ) मानव वन्यजन्तु द्धन्द्ध र चोरी शिकारीका घटनाहरू संरक्षित क्षेत्र भन्दा सामूदायिक र सरकारी वनमा बढी घट्ने गरेकोले क्षति न्यूनिकरण गर्न रणनैतिक योजना तर्जुमागरी कार्यान्वयणमा ल्याउनु पर्ने ।
ट) काठमाडौं र चितवन (टिकौली र कसरा ) भण्डारण गरिएका आखेटोपहारको संरक्षण र सुरक्षा चुनौतिपूर्ण भएकोले अध्ययन , अनुसन्धान र संग्राहलयका लागि केही आधिकारिक निकायलाई उपलब्धगराई बाँकी नष्ट गर्न समयतालिका वनाई कार्यान्वयण गर्नु पर्ने ।   bansanchar 3
ठ)प्राकृतिक प्रकोपको लागि उच्च जोखिम भएका संवेदनशील जलाधारहरूको पहिचान एवम् प्राथमिकीकरण गरी प्रकोप न्यूनिकरण गर्न योजना निमार्ण र श्रोतको व्यवस्थापन गर्न निर्देशन दिनु पर्ने ।
ड) गुणस्तर निर्धारण प्रयोगशाला क्षेत्रीय तहमा विस्तारगरी प्रशोधित जडिबुटीको बजार प्रवर्धनमा सहजिकरण गर्न निर्देशन दिनु पर्ने ।
ढ) वन स्रोत मापण तथ्याङ्कलाई उपयोगगरी जिल्लामा वैज्ञानिक तथ्यमा आधारित वन व्यवस्थापन पद्धतीको विकास र विस्तार गर्न केन्द्रीय स्तरमा प्राविधिक संयन्त्रको निमार्ण गरी नियमित कार्य प्रगतिको समिक्षा गर्ने व्यवस्था मिलाउनु पर्ने ।
ण) एउटै जिल्लामा लामो समयसम्म कर्मचारीलाई जिम्मेवारी दिँदा वन अतिक्रमण, वन पैदावर तस्करी र चोरीशिकारी नियन्त्रणमा कठिनाई उत्पन्न भएकाले यसलाई सरुवा मापदण्ड मार्फत सच्याउनु पर्ने ।
त)प्रत्येक महिनाको दुईदिन मन्त्रीज्यूले विभागिय र महाशाखा प्रमुखसँग समसामयीक विषयमा छलफल गर्ने परिपाटीको सुरुवात गर्नु पर्ने ।
थ) वनलाई प्राथमिकता प्राप्त क्षेत्रको रूपमा राष्ट्रिय पहिचान दिलाउन सङ्कल्प प्रस्ताव तयार गरी संसद्मा पेश गर्नु पर्ने ।

को हुन वनमन्त्री भण्डारी ?
नेपाली कांग्रेसको १२औं महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहेका भण्डारी तनहुँ क्षेत्र नं १ बाट संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँको पुरकोट गाविस वडा नं १ का वासिन्दा हुन् । उनी स्वर्गीय पिता दयानिधी भण्डारी र दमयन्ती भण्डारीका कान्छा छोरा हुन् । विद्यालयकालदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध भएता पनि २०३६ को विद्यार्थी आन्दोलनदेखि सक्रिय विद्यार्थी राजनीतिमा होमिएका थिए । भण्डारी कांग्रेसी परिवारमा जन्मिएका उनको ठूलो दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेविसंघको राजनीतिमा प्रवेश गरेका थिए । २०४० सालमा एस.एल.सी. दिएपछि उच्च शिक्षाका लागि राजधानी प्रवेश गरेका भण्डारीले सरस्वती क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका थिए । २०४६ सालसम्म पद लिनुपर्छ भन्ने मानसिकता नभएका भण्डारी लहलहैमा कार्यकर्ताकै हिसाबले २०४६ सालको आन्दोलनमा सक्रिय भएका थिए । २०४६ सालमा लौहपुरुष गणेशमान सिंहको घरमा भएको पार्टी सम्मेलनमा मञ्च व्यवस्थापन समितिमा बसेर काम गर्ने मौका पाएका थिए । पार्टीको काम गर्दैगर्दा उनी पक्राउ परेका उनी २९ दिनसम्म प्रहरी हिरासतमा बसेका थिए । मुलुकमा बहुदल आएपछि भण्डारी त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए । २०४८ सालमा नेविसंघ इकाई सभापति बन्न सफल भए । राजनीतिक यात्रा अगाडि बढ्दै जाने क्रममा भण्डारी २०४९ सालमा स्ववियु सभापतिमा निर्वाचित भए । त्यसपछि भने २०५३ सालमा पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सफल  भए । राजनीतिक यात्रा अगाडि बढ्दै जाँदा पार्टीको १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनावमा १९औं नम्बरमा खुल्ला तर्फबाट निर्वाचित भएका थिए । र १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा नै रहिरहन सफल भण्डारी हठी स्वभावका छन् । कार्यकर्ता र सर्वसधारणमाझ देशभरीनै निकै लोकप्रिय मानिन्छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *