काठमाडौं, भदौ २३ । निजामति सेवा दिवस–२०७३ को अवसरमा काठमाडौंको पुरानो सिनामंगल स्थित ‘राष्ट्र सेवा उद्यान’मा वृक्षरोपण कार्य सम्पन्न गरिएको छ । वन दशक (२०७१–२०८०) मनाइरहेको वन तथा भू–संरक्षण मन्त्रालयले ‘एक शहर अनेक उद्यान’ कार्यक्रमलाई सफल बनाउन निजामति सेवा दिवस–२०७३ को अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुबेदीले उद्यानको होर्डिङ बोर्ड अनावरण तथा कपुरको विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदय चन्द्र ठाकुर, नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरु लगायतका उच्च पदस्थ कर्मचारीहरु, तथा स्थानिय वासिन्दा सहित करिब तीन सयजना सहभागि रहेको थियो । वृक्षारोपण कार्यक्रम अन्तर्गत ९० वटा कपुर र १० वटा कल्किफूलका विरुवाहरु रोपिएको छ । सुवेदीले पुरानो सिनामंगल क्षेत्रमा रहेका विगतमा निमार्ण गरिएका वन उद्यानहरुको अवलोकन र गत वर्ष निमार्ण सम्पन्न भएको कपुर गार्डनको पनि उद्घाटन गर्नुभएको थियो ।
पुरानो सिनामंगल क्षेत्रका स्थानिय वासिन्दाहरु वन तथा भू–संरक्षण मन्त्रालयका सह–सचिव विजयराज पौडेल, निजी वन सरोकारवाला महासंघका महासचिव विष्णु प्रसाद ज्ञवाली, वन सम्बर्धन महाशखाका वन दशक कार्यक्रम हेर्ने उपसचिव बुद्धि रिजाल ‘मर्निङ वाल्क’ गर्दाको बखत यस क्षेत्रलाई हरित शहरमा विकास गर्ने सोचका साथ दुई वर्ष अगाडी उद्यानको निमार्ण कार्य गर्न जिल्ला वन कार्यालयलाई स्थानिय समूहसँग सम्बन्ध स्थापित गराई सुरुवात गरिएको थियो । काठमाडौं जिल्ला वन कार्यलयका जिल्ला वन अधिकारी डा.इन्द्रप्रसाद सापकोटाले कपुर गार्डेन निमार्णको लागि ६ लाख र राष्ट्र सेवा उद्यान निमार्णको लागि ८ लाख रुपैँया खर्च हुने बताउनु भएको छ ।सापकोटाले यसै वर्ष भित्र काठमाडौं जिल्लाको जोरपाटी,कुलेश्वर लगायतका छ स्थानमा पनि उद्यानको निमार्ण सम्पन्न हुने जानकारी दिनुभयो । यस क्षेत्रमा उद्यान निमार्णमा विशेष सक्रियता र सहभागिता जनाउनुभएका दश जना स्थानियलाई प्रमुख अतिथी सुबेदीले सम्मानपत्र प्रदान गर्नु भएको थियो । निजामति सेवा दिवस–२०७३ कै अवसरमा देश व्यापीरुपमा सरकारी निकाय तथा सार्वजनिक क्षेत्रहरुमा जिल्ला वन कार्यलयको अगुवाईमा वृक्षरोपण गरिएको छ ।