Breaking News

स्थानिय स्तर देखि राष्ट्रिय स्तर सम्म नै वन क्षेत्रको योगदान अतुलनिय छ

हेमराज विष्ट, जिल्ला वन अधिकृत, सुर्खेत
हेमराज विष्ट, जिल्ला वन अधिकृत, सुर्खेत

वि.सं. २०३० सालमा दार्चुला जिल्लाको गोकुलेश्वरमा जन्मिनु भएका हेमराज विष्ट हाल मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम सुर्खेत जिल्लामा जिल्ला वन अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ । वि.संं. २०५५ सालमा सहायक वन वन अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गर्नु भएको थियो । २०५५ सालबाट सुरु भएको उहाँको यात्रा वन विभाग, वन मन्त्रालय, जिल्ला वन कार्यालय दाङ, सर्लाही, बर्दिया, कैलाली, ललितपुर, प्यूठान हुँदै डेढ वर्ष अगाडी सुर्खेत जिल्ला वन कार्यलय सम्हाल्न आउनुभएको हो । उहाँले जर्मनीको गोटिङगन विश्वविद्यालयबाट ‘उष्ण तथा अन्तरराष्ट्रिय वन’ विषयमा स्नाकोत्तर गर्नु भएको छ । उहाँले नेपाल सरकारको वन मन्त्रालय अन्तर्गत वन सम्बन्धी विभिन्न नीति निर्माण कार्यमा सहभागी भई एउटा सफल नीति, रणनीति निर्माणमा भूमिका निर्वाह गरिसक्नु भएको छ ।वन क्षेत्रको संरक्षण, विकासमा विशेष योगदान पु¥याउनु भएका उहाँलाई वन विभागले २०७१ सालमा आफ्नो कार्यक्षेत्रमा निर्वाह गर्नुभएको जिम्मेवारी र भूमिकाको उच्च मूल्याङ्कन गर्दै नगद सहित प्रशंसा–पत्र तथा जिल्ला विकास समिति प्यूठानबाट समेत प्रशंसा–पत्र पाउनु भएको थियो ।  वि.सं. २०६८ सालमा नेपाल सरकारको उपसचिव पदमा बढुवा हुनु भएका उहाँझन्डै दुई दशक देखि सरकारी पदमा रही देश र जनताको सेवामा तल्लिन हुनुहुन्छ । प्रस्तुत छ सुर्खेत जिल्लाको वन क्षेत्रको समग्र अवस्था र समस्यामा केन्द्रीत भएर वनसञ्चारका उप–सम्पादक सुजन सुबेदीले गरेको समसामयिक कुराकानी:

सुर्खेत जिल्ला भित्र रहेको वन क्षेत्रको अवस्था कस्तो छ ?

सुर्खेत जिल्ला वन सम्पदाको आधारमा धनी जिल्ला हो । जिल्लाको १ लाख७७ हजार ८५४ हेक्टर (करिब ७१प्र्रतिशत) क्षेत्रफल वन क्षेत्रले ढाकिएको छ । जिल्लामा कुल  नेपालकै पहिलो संरक्षित वन काँक्रेबिहार संरक्षण वन क्षेत्र (१७५.५हे.) पनि यसै जिल्लामा पर्दछ । यस जिल्लामा करिब ५० वटा भन्दा बढी निजी वन , २२ हेक्टर. धार्मिक वन र ४०७ वटा सामुदायिक वनहरू (करिब ७६०२३ हेक्टर) रहेका छन् ।यस क्षेत्रका वनमा साल, सिसौ, खयर जस्ता उच्चबजार मूल्य भएका  काठ तथा विभिन्न किसिमका जडिबुटीहरू पाईन्छन ।

घना जंगल भित्र वर्षौं देखि वेवारिशे बनेर ढलीरहेका रुख हरूको उपयोग कसरी गरिरहनु भएको छ ?

सुर्खेत जिल्ला क्षेत्रीय सदरमुकाम भएतापनि यहाँ विकट ठाउँहरू धेरै छन् । ती विकट क्षेत्रका वनहरूमा लडापडा रुखहरूको व्यवस्थापन कार्य सडक यातायातको अभावमा कठिन भईरहेको छ । व्यावसायिक हिसाबमा उच्च मूल्यका काठहरू भएपनि यसको कटान,संकलन र ढुवानी गर्न समस्या भएका कारण उचित सदुपयोग गर्न सकिएको छैन । यस्ता काठहरूको व्यवस्थापन गर्ने क्षमता निजी क्षेत्रसँग पनि सिमित भएको र सरकारी संयन्त्र पनि मजबुत नभएका कारण प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।

11

एक वन विज्ञको रूपमा तपाईंले गर्ने कामहरू कति प्राविधिक प्रकृितका छन् ? के तपाईं आफूले गर्नुपर्ने कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

जिल्ला वन अकिृतको कार्य वन प्राविधिक, प्रशासनिक र अर्धन्यायिक निकायको ‘न्यायाधीश’ सबै हो । यी तीन वटै कार्यहरू सँगसँगै गर्नु पर्ने भएकाले हामीले गर्ने काम पूर्णतः प्राविधिक मात्र हैन । तर पछिल्लो समयमा हामीले गरेका धेरै कामहरू प्राविधिक छन् । जस्तै वैज्ञानिक वन व्यवस्थापन, वन सम्बर्धन र विभिन्न तालिमहरू । त्यसैगरी वन अतिक्रमण नियन्त्रण र चोरी कटानी तथा चोरी शिकारी नियन्त्रणका कार्यहरू प्रशासकको रूपमा तथा जिल्ला वन कार्यालयबाट गरिने वन  मुद्दाहरूको फैसलामा न्यायाधीशको भूमिका निर्वाह गर्नु पर्दछ । विविध चुनौतीहरूका बाबजुद यी सबै जिम्मेवारीहरू बहन गर्दा आफू सन्तुष्ट नै छु ।

तपाईंको आफ्नो रुचि र क्षमता अनुसारको काम गर्ने वातावरण छ ?

स्वतःस्फूर्त रूपमा काम गर्ने वातावरणमा केही तत्वहरूले प्रत्यक्ष/अप्रत्यक्ष बाधा गरिरहेका हुन्छन् । कुनै परिस्थितिमा राजनैतिक हस्तक्षेप,असहयोग र स्थानिय जनताहरूको साथ सहयोग नपाउने अवस्था हुन्छ । निर्धक्क भएर अगाडि बढ्न केही कठिन भए तापनि काम गर्ने दृढ इच्छाशक्ति हुने हो भने आफूले चाहे अनुसारको काम गर्न सकिन्छ । काम गर्ने कुरा सर्वप्रथम आफूमा निर्भर पर्दछ । त्यसपछि आफू मातहतका कर्मचारीहरूको मनोवल, सामाजिक–राजनैतिक परिवेश र केही हदसम्म विगतका वर्षहरूमा त्यो कार्यालयले कसरी कार्य सञ्चालन गरेको थियो भन्ने कुराहरूमा भर पर्दछ । यदि दृढ इच्छा शक्ति देखाएर जनाताप्रति समर्पित भएर काम गर्ने हो भने वन क्षेत्रमा काम गर्ने वातावरण राम्रो रहेको छ ।

संरक्षण क्षेत्र र समुदायबीचको द्वन्द्वको कारण के हो ? तपाईंको अनुभवमा समस्याको प्रभावकारी समाधानको उपाय के हुनसक्छ ?

मेरो अनुभवमा संरक्षण क्षेत्र र स्थानिय समुदाय बीचमा द्वन्द्वहुनुका मुख्य कारणहरू स्थानिय वासिन्दाहरूले वर्षौ देखि उपभोग गर्दै आएको वन पैदावरहरूको उपभोगमा केही प्रतिबन्ध हुनु, संरक्षित क्षेत्र भित्र रहेका वन्य जन्तुहरूले स्थानिय बासिन्दाहरूलाई आक्रमण गर्ने तथा स्थानिय समुदायको कृषिबाली, चौपायाहरूको नोक्सान पु¥याउने प्रमुख कारणहरू हुन् । यो समस्याको वैज्ञानिक समाधान गर्न राज्यले संरक्षित क्षेत्रहरूको वैज्ञानिक व्यवस्थापन गरी वन्यजन्तुहरू संरक्षित क्षेत्र बाहिर आउन नदिने वातावरण बनाउनु पर्दछ । वन्यजन्तु बाट हुने भौतिक तथा मानविय क्षतिको बिना झन्झट समयमै उचित क्षतिपूर्ति दिइनु पर्दछ ।

hem

एकातर्फ लोपोन्मुख भन्दै संरक्षण गरिहेका छौँ तर , अनि यिनै हामीले संरक्षण गरेका जीवजनावरहरूले आम मानिसलाई आतंकित बनाउनुको साथै ज्यानै समेत लिने गरेका छन् । यसको रोकथाम कसरी गर्न सकिन्छ ?

यस जिल्लामा बँदेल, चितुवा, हरिणजस्ता वन्यजन्तुहरूले कृषि बालीनाली तथा चौपायाहरूलाई नोक्सानी पु¥याई आम मानिसलाई आतंकित गरिरहेका छन भने छिटपुट मानिसहरूलाई आक्रमण गरेका घट्नाहरू पनि छन् । जंगलमा बस्ने जनावरहरूको प्रकृति नै हिंस्रक र आक्रामक हुने हुनाले यिनीहरूबाट बच्न सर्वप्रथमतः जनताहरू स्वयम् नै सचेत र सजग हुनु पर्दछ । वन्यजन्तुको आक्रमणबाट बच्न राज्यले सुरक्षाका उपायहरू अबलम्वन गर्ने विधिहरूको बारेमा तालिम तथा प्रशिक्षण दिनु पर्दछ । कृषि बालीनाली तथा चौपायाहरूको नोक्सान भएमा हामीले स्थानिय प्रहरीहरूले तयार पार्ने मुचुल्काको आधारमा क्षेत्रीय वन निर्देशनालय मार्फत सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएका छौँ। क्षतिलाई न्यूनिकरण गर्नको लागि संरक्षित वनहरूको वैज्ञानिक व्यवस्थापन गरी यिनीहरूको भार वहन क्षमता (carrying capacity) बढाइनु पर्दछ र ज्यादा असर गर्ने वन्यजन्तुहरूको संख्या पनि नियन्त्रण गर्न जरुरी हुन्छ ।

केही समय अगाडि सुर्खेत जिल्लामा वनमै बस्ने राउटे समुदायका व्यक्तिहरूलाई पनि वन संरक्षणको जिम्मेवारी दिइएको थियो,वन संरक्षणमा यो कत्तिको प्रभावकारी भयो ?

राष्ट्रपति चूरे संरक्षण कार्यक्रम र बहुसरोकारवाला वन विकास कार्यक्रमको सहयोगमा वन संरक्षणको सँगसँगै उनीहरूको जीवन स्तरमा पनि सुधार होस् भन्ने उद्देश्यका साथ निश्चित समयको लागि वन क्षेत्रमा लाग्ने वन डढेलो नियन्त्रण गर्न आर्थिक वर्ष २०७०/७१ तिर राउटेहरूलाई उक्त कार्यको जिम्मेवारी दिइएको थियो । फिरन्ते जात भएका कारण विगत दुई वर्षअघि राउटेहरू सुर्खेत जिल्लाबाट अछामतिर गएकाले हाल तिनीहरू सुर्खेत जिल्ला वन कार्यालयको सम्पर्कमा रहेका छैनन ।

लोपोन्मुख वन्यजन्तु र वन पैदावार तष्करी र चोरीनिकासी दिनानुदिन बढी रहेकोछ । यसको नियन्त्रण कसरी गरिरहनु भएको छ ?

वन पैदावार तष्करी र चोरी निकाशी नियन्त्रण गर्नु हाम्रो प्रमुख दायित्व हो । त्यसैले हामी निकाशी नियन्त्रण गर्न विभिन्न अपरेशनहरू सञ्चालन गरिरहेका छौँ । जिल्ला वन कार्यलय सुर्खेतले विगत करिब सवा वर्षको अवधिमा मात्र १ सय भन्दा बढी व्यक्तिहरूलाई वन ऐनको दायरामा ल्याइएको छ । विभिन्न ३७ वटा वन पैदावार हानि नोक्शानी तथा वन अतिक्रमणको मुद्दाको फैसला भईसकेको छ । भेरी नदी पारीपट्टिबाट चिरान काठहरू ट्रयाक्टरको ट्यूबमाथि राखेर वहाना बनाएर चोरी निकाशी गर्ने देखी लिएर वालुवा–गिट्टीका गाडीहरू भित्र राखेर विशेषतः रातका समयमा चोरी निकाशी गर्ने गरेका छन् । नियन्त्रणका लागि हामीले सामुदायिक वनहरूसँग समन्वय र सहकार्य गरेर गस्ति गर्ने गरेका छौँ र यो विधि निकै प्रभावकारी बन्दै आएको छ । विशेषतः वन पैदावारको चोरी कार्य रात्रीको समयमा बढी हुने हुनाले चौबीसै घण्टा ‘अलर्ट’ बस्ने गरेका छौँ । केही महिना अघि जिल्ला वन कार्यालय मुगुको किर्ते छोडपूर्जीमा ल्याइएको ६ हजार किलो भन्दा बढी परिमाणको जटामसी सुर्खेत स्थित नागरिक उड्डयन कार्यालयबाट बरामद गरी संलग्न दोषी वन कर्मचारीहरू र व्यापारीहरूलाई कानूनको दायरामा ल्याउन सफल भएका छौं । सो कार्यले गर्दा अन्यत्रबाट यसरी हुनसक्ने चोरी तष्करी रोक्नलाई पनि सकारात्मक सन्देश गएको मैले ठानेको छु ।

untitled-1

तपाईले वन क्षेत्रको योगदानलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

स्थानिय देखि राष्ट्रिय स्तरसम्म वन क्षेत्रको योगदान अतुलनिय छ । वन क्षेत्रले देशको सबै भेगका जनताहरूलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा फाइदा पु¥याएकै छ । स्थानिय स्तरमा दैनिक उर्जाको आपूर्ति सँगै आयमुलक, रोजगारीका अवसर प्रदान गरिहेको छ । खोटो, जडिबुटी र काठ दाउराको क्षेत्रमा हजारौ व्यक्तिहरूले रोजगारी पाएका छन । जिल्लामा भएका वन स्रोतबाट प्राप्त आम्दानीले जनताहरूको जीवनस्तरमा सुधार ल्याएको देखिन्छ । कतिपय स्थानिय स्तरका भौतिक पूर्वाधारहरू जस्तै विद्युत, सिंचाई, खानेपानी, सडक, स्कुल निर्माण आदि क्षेत्रमा लगानी गर्न आम्दानी जुटाउने स्रोत वन क्षेत्र बनेको छ ।गरिवी न्यूनिकरणमा पनि यसको योगदान महत्वपूर्ण रहेको छ । सरकारलाई पनि राजस्व संकलनको स्रोत बनेको छ । वातावरणीय दृष्टिकोणबाट पनि पारिस्थितिक प्रणालीमा सन्तुलन ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जिल्लाको समग्र विकासमा वन क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।

सुर्खेत जिल्लामा वनजन्य उद्योगहरूको अवस्था कस्तो छ ?

जिल्लामा वन पैदावरमा आश्रित वनजन्य उद्योगहरूको अवस्था राम्रो रहेको छ । यहाँ च्यूरीको घ्यू उत्पादन गर्ने देखि जडिबुटी प्रशोधन उद्योग, डिस्टिलेशन उद्योग, काठ चिरान गर्ने सःमिलहरू सञ्चालनमा रहेका छन। यी उद्योगहरूले वन क्षेत्रमा खेर जाने वन पैदावारको उचित प्रयोग गर्दै स्थानीयलाई रोजगारी प्रदान गरेका छन् ।

समग्र वन क्षेत्र भित्र रहेका समस्याहरू के–के हुन ? र यसको समाधानको लागि के गर्नुपर्दछ  ?

वन डढेलो र छाडा चरिचरण पछिल्लो समयमा वन क्षेत्रको चुनौतीका रूपमा देखा परेको छ । वन स्रोतमा चौतर्फी अतिक्रमण, जनताहरूमा वनक्षेत्रलाई दोहन गर्नु पर्छ भन्ने मानसिकता हुनु,वन क्षेत्रमा विकासका पूर्वाधारहरूको निर्माण जथाभावी गरिनु, वैज्ञानिक वन व्यवस्थापनको कमी, वन पैदावारहरूको चोरीनिकाशी, तस्करी आदि वन क्षेत्रका अन्य समस्याहरू हुन । यस बाहेक कतिपय वनकर्मचारीहरूको कार्यशैली पनि समस्याका रूपमा रहेको छः कतिपय कर्मचारीहरूले वन क्षेत्रको संरक्षण, सम्बर्धन र वैज्ञानिक वन व्यवस्थापन गर्ने सोचका साथ काम गर्ने गरेका छैनन भने कतिपय स्थानमा पर्र्याप्त मात्रामा कर्मचारीहरू पनि नभएको अवस्था छ । “ज्वरो आएको बेलामा पनि काम गर्ने व्यक्ति व्यापारी हो भने काम देखेर ज्वरो आउने व्यक्ति सरकारी कर्मचारी हो” भन्ने भनाईको अन्त्य हुने गरी सबैले काम गर्न जरुरी छ । वन क्षेत्रसँग सम्बन्धित सम्पूर्र्ण कर्मचारीहरू र सरोकारवाला निकायहरूले सकारात्मक सहयोग गरिदिने हो भने वन क्षेत्रमा रहेका समस्याहरू समाधानगर्न गाह्रो छैन ।

वन क्षेत्रअतिक्रमणको अवस्था कस्तो छ ?

विगतका वर्षहरूमा वन क्षेत्र अतिक्रमण व्यापक रूपमा बढीरहेको थियो । तर, अहिले हामीले नयाँ क्षेत्रमा हुने अतिक्रमणलाई पूर्णतः नियन्त्रण गरेका छौँ । त्यस्तै विगतमा वन अतिक्रमण भएका क्षेत्रहरूपनि क्रमशः हटाउँदै गएका छौँ । आर्थिक वर्ष २०७२/७३ मा मात्रै विगत वर्षहरूमा गरिएको मध्ये ५४ हेक्टर भन्दा बढीे क्षेत्र फिर्ता गरी त्यसको संरक्षणको लागि बजेटले पुगेसम्म तारबार लगाउने, वृक्षारोपण गर्ने कार्य गरेका छौँ ।

untitled-1

नाकाबन्दीको समयमा भएको उर्जा संकटलाई कसरी व्यवस्थापन गर्नु भएको थियो ?

अघोषित नाकाबन्दीका समयमा खाना पकाउने ग्यासको हाहाकार भएको थियो । हिउँदको जाडोमा रातभरी एक सिलिण्डर ग्यासको लागि लाइनमा बस्दा समेत सबैले ग्यास नपाउने अवस्था थियो । यस्तो अवस्थामा उपभोक्ताहरूलाई दाउराको सहज आपूर्ति गर्न नसकेको खण्डमा कैयन हरिया रुखहरू विनाश हुने निश्चित थियो, किनकि काचो गाँस कसैले पनि खादैन । यस्तो अवस्थामा जिल्ला वन कार्यालयले वनमा रहेका ढलेका र नपुग भएमा सुकेका खडा रुखहरूबाट समेत दाउराको आपूर्ति गर्न अत्यावश्यक ठानी प्रशासनिक कार्यालयका प्रमुख र राजनैतिक दलहरू लगायतको सहभागितामा अन्तर्कृया सम्पन्न गरी सबै सामुदायिक वनहरू तथा जिल्ला वन पैदावार आपूर्ति समितिले सुकेका रुखहरू (dead biomass) बाट बढी भन्दा बढी दाउराको आपूर्ति गर्ने भनी सहमति गरी दाउरा वितरणको मापदण्ड तय ग¥यौँ । जिल्लामा भएका अधिकांश सामुदायिक वनहरूबाट तथा जिल्ला वन पैदावर आपूर्ति समिति मार्फत पहिलो पटक डिपो मार्फत दाउरा वितरण गरी इन्धन समस्या समाधानमा सहयोग गरियो । वन कार्यालयले पनि दुःखमा जनतालाई राहत दिँदो रहेछ भन्ने स्थानिय जनताहरूमा सकारात्मक सन्देश गयो र वन कार्यालयले जनताबाट प्रशंसा पनि पाउन सफल रहयो ।

वन व्यवसायीहरूले जिल्ला वन कार्यालय/कर्मचारी प्रति ढिलासुस्ती गर्ने, अनावश्यक दुःख दिने गरेको जस्ता आरोपहरू लगाउने गर्छन् । यस्ता आक्षेप लगाउनुको कारण  के हो ?

हामीले दैनिक दिने/गर्ने सेवा, काम कारबाहीहरू बढि झण्झटिला र कर्मचारीहरू बाट पनि ढिला सुस्ति गर्ने भएर नै आरोपहरू आउने गरेका हुन्छन र यो सत्य पनि हो । केही कर्मचारीहरू सेवाग्राहीप्रति उत्तरदायी नहुने, काममा ढीलासुस्ती गर्ने, जिम्मेवारीबाट पन्छिने, मुस्कान सहितको सेवा प्रदान नगर्ने र आफू लाई मालिक ठान्ने पूरानो सोच अझैपनि पालेर बसेका भेटिन्छन । केहीले नियोजित रूपमा नै ढिलासुस्ति गर्ने गरेका पनि हुन्छन् भने कुनै कुनै सेवाग्राहीले पनि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्न अल्छि मान्ने, आफ्नो मात्र सहजता खोज्ने भएकाले कर्मचारीहरूलाई आरोप लगाउने गर्दछन् । तथापि कर्मचारी र सेवाग्राही बीचमा हुने आरोप प्रत्यारोपहरू पछिल्लो समयमा तुलनात्मक रूपमा कम हुँदै गएका छन् । जानाजानी ढीलासुस्ति गर्ने, आलटाल गर्ने कर्मचारीलाई हामीले चेतावनी सहित सेवासुविधा कटौती गर्नेसम्मका कारबाही पनि गरेका छौँ ।

तपाईं एक सरकारी कर्मचारी पनि हुनुभएको नाताले वन क्षेत्रसँग सम्बन्धित प्रचार –प्रसार कत्तिको आवश्यक ठान्नुहुन्छ ?

वन क्षेत्रसँग सम्बन्धित प्रचार–प्रसार अत्यन्तै कम भएको छ । अन्य क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको तुलनामा यसको प्रचार–प्रसार नगन्य मात्रामा भएको पाईन्छ । सञ्चार माध्यमहरूले पनि यस क्षेत्रलाई कम प्राथमिकता दिएको पाईन्छ । देश विकासमा कृषि क्षेत्रकै जति सम्भावना भएका हुनाले वन क्षेत्रसँग  सम्बन्धित सूचना, जानकारी प्रचार–प्रसार गर्न राज्य प्राथमिकताका साथ लाग्नु पर्दछ ।

अन्तमा, यस वन सञ्चार मार्फत थप केही भन्नु छ कि ?

सर्वप्रथम वन क्षेत्रको संरक्षण र यसको व्यवस्थापनका विविध नविन पक्षहरूको प्रकाशन गरी जनतालाई सुसूचित गर्ने कार्य गरेकोमा ‘वन सञ्चार’ लाई धन्यवाद सहित सफलताको कामना गर्दछु । वन कर्मचारीहरूलाई समयानुकुल तालिम तथा प्रशिक्षण दिनुपर्ने आवश्यकता रहेको छ । २०–२५ वर्ष अगाडी वन व्यवस्थापन सम्बन्धि अध्ययन गरेका कर्मचारीहरूले अहिलेको बदलिदो परिस्थितिमा वनको वैज्ञानिक व्यवस्थापन गर्न सक्दैनन् । त्यसैले सबै वन कर्मचारीहरूलाई वन व्यवस्थापन सम्बन्धी आधुनिक ज्ञान, सीप र क्षमता वृद्धि गर्न आवश्यक छ । कामको उचित मूल्याङ्कन गरी कर्मचारीहरूलाई पुरष्कार र दण्डको दायरामा ल्याउन जरुरी छ । यदि यी कुराहरूको सफल कार्यन्वयन गर्ने हो भने वन क्षेत्रको भविष्य उज्वल रहेको देख्दछु ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *