Breaking News

गिद्ध संरक्षणका लागि सात स्थानमा रेस्टुरेन्ट स्थापना

giddha-650x350

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गिद्ध संरक्षणका लागि  विभिन्न स्थानमा रेस्टुरेन्ट स्थापना गरेको छ । अधिकाशं मरेका वस्तुलाई आफ्नो मुख्य आहरा बनाउने गिद्धलाई संरक्षण तथा संवद्र्धनका लागि विभाग र स्थानीय बासिन्दाको पहलमा नेपालको विभिन्न सात स्थानमा रेस्टुरेन्ट स्थापना गरिएको छ ।

गिद्धको आहारका लागि विभागले नवलपरासीको पिठौँली, दाङको लालमटिया, घोराही, रुपन्देहीको गैँडाताल, कैलालीको कुटिया, सुनसरीको रामधुनी र कास्कीको घाचोकमा गिद्ध रेस्टुरेन्ट स्थापना गरेको छ ।

वि.सं. २०५८ तिर नेपालमा अधिकाशं गिद्ध मर्न थालेपछि तिनको संरक्षणका लागि विभागले रेस्टुरेन्ट स्थापना गरेको थियो । रेष्टुरेन्टमा मर्न लागेका गाईवस्तुलाई लगेर राखिदिने र मरेपछि गिद्धले खाने गर्दछ, त्यसैले यसलाई ‘गिद्ध रेस्टुरेन्ट’ (गिद्ध आहरा केन्द्रं) भनिएको हो । यसलाई ‘जटायु रेष्टुरेन्ट’ पनि भन्ने गरिन्छ ।

गिद्धलाई कुचीकार चराको रुपमा पनि हेर्ने गरिन्छ । मरेका वस्तुलाई तत्काल खाएर  सफा गरिदिने भएकाले यसलाई कुचीकार चरा समेत भनिएको हो ।

नेपालमा हाल १२ देखि १५ हजारको हाराहारीमा गिद्ध पाइन्छन् । यसमध्ये सबैभन्दा धेरै १० हजारको हाराहारीमा हिमाली गिद्ध पाइन्छ, भने सबैभन्दा थोरै सानो खैरो गिद्ध पाइन्छ उक्त गिद्ध जम्मा ६० वटा रहेको छ ।

यसबाहेक पहाड र तराईमा पाइने डङ्गर गिद्ध एकहजारदेखि दुईहजार, हिमाल र तराईमा पाइने राजगिद्ध ६० देखि १००, हिमालदेखि तराईमा पाइने सुनगिद्ध २०० सयदेखि ४०० सयसम्म, हिमालमा पाइने हाडफोर गिद्ध ४०० सयदेखि ५०० सयसम्म र तराईदेखि हिमालमा पाइने सेतो गिद्ध ३०० सयदेखि एकहजारको सङ्ख्यामा रहेको विभागले जनाएको छ ।

विश्वका विभिन्न देशमा अगस्टमा अन्तर्राष्ट्रिय गिद्ध संरक्षण जनचेतना दिवस मनाउने गरेपनि नेपालमा भने अहिलेसम्म उक्त दिवस मनाइएको छैन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *