Breaking News

रेडपाण्डाको तस्करी रोक्न मोबाइल एप्लिकेसनको प्रयोग

14593315_1228638943866430_1441194759_n

काठमाडौं । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो ।

वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका छन् ।

इलाममा १४ जना वन अभिभावकलाई सात वटा, पाँचथरमा १२ जनालाई छ वटा र ताप्लेजुङमा २८ जना वन अभिभावकलाई १४ वटा मोबाइल वितरण गरिएको छ ।

मोबाइल एप्लिकेसन प्रयोगका लागि भने रेडपाण्डा पाइने जङ्गल जानुपर्ने हुन्छ । एप्लिकेसनसँगै जिपिएसको समेत प्रयोग हुन थालेको छ । वन अभिभावक पनि मोबाइलबाट रेडपाण्डाको अनुगमन हुने भएपछि चोरी निकासी नियन्त्रण गर्न सकिनेमा ढुक्क भएका छन् ।

रेडपाण्डा नेटवर्क नेपालबाट सन् २०११ देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण परियोजना सञ्चालन भइरहेको छ । संरक्षणसम्बन्धी चेतना फैलाउन तीन वटै जिल्लाका विभिन्न विद्यालयमा रेडपाण्डा शिक्षा सुरू गरिएको छ ।

इलामको पुवामझुवा, माइमझुवा, माइपोखरी, माबु, जमुना, प्याङ, जोगमाई, नयाँबजार लगायतका गाविसमा रेडपाण्डा पाइन्छ । यसअघि पनि रेडपाण्डा संरक्षणका लागि क्यामेरा जडान गरिएको थियो ।

तर तस्करले क्यामेरा फुटाएर रेडपाण्डा तस्करी गर्न थालेपछि एप्लिकेसनको प्रयोग गरिएको हो । इलाम, पाँचथर र ताप्लेजुङमा करिब अढाई सय भन्दा बढीको सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *