Breaking News

“लोक्ता” (बरुवा) कच्चा पदार्थ–नेपाली कागज–बस्तु उत्पादन

मोहन कृष्ण मानन्धर, अध्यक्ष, नेपाल हाते कागज संघ
मोहन कृष्ण मानन्धर, अध्यक्ष, नेपाल हाते कागज संघ

नेपाल प्राकृतिक बनस्पति एवम महत्वपूर्ण जडीबुटी तथा बिविध सांस्कृतिक सम्पदाहरुका धनी देश हुनुका साथै विविध परंम्परा, मठमन्दिर, उच्च हिमश्रृङ्खला तथा विभिन्न हस्तकला सामग्री आदिबाट पनि विश्वमा परिचित एवम प्रशिद्ध रहेको छ । हाम्रो देशको विकाससंगै विकसित भएका नेपाली हस्तकलाका सामागी्रहरु मध्ये परम्परागत प्रविधि (तरिका)बाट लगभग बाह्रौं शताब्दी अघिदेखि उत्पादन हुंदै आएको नेपाली हाते कागज एक हो ।

नेपाली हाते कागज उत्पादन गर्न प्रयोग गर्दै आएको कच्चा पदार्थहरुमध्ये प्रमुख “लोक्ता”(बरुवा) भन्ने प्राकृतिक वनस्पति कच्चा पदार्थको सन् १९८४ मा तत्कालीन श्री ५ को सरकार, बन सर्भेक्षण तथा अनुसन्धान कार्यालयबाट गरिएको अनुसन्धान प्रतिवेदन अनुसार विशेष गरी नेपालका ७५ जिल्ला मध्ये ५५ पहाडी तथा हिमाली जिल्लाका महाभारत श्रृंखला र त्यस्को उत्तरी भागका ५,००० फिट देखि १०,००० फिटसम्म (समुद्री सतह भन्दा माथि) को उंचाइका चिसो, ओसिलो, बढी पात पतिंगर कुहिएको ठाउं र अरु रुखको छहारी भएको जंग/बुट्यानको २९,१०,८४८ हेक्टर भूभागमा पाइने र अन्दाजी १,१०,४८० मेट्रिक टन लोक्ता कच्चा पदार्थ उपलव्ध हुन सक्ने (Growing stock)  रहेको अनुमानको तथ्यांक प्रकाशित गरिएको    थियो ।

यो कच्चा पदार्थलाई नेपालमा विभिन्न जाति, भाषा अनुसार कालो बरुवा, सेतो बरुवा, कागजे पाट, सिक्रे बरुवा, सिउस्या, बडु आदि विभिन्न नामले चिनिने भएपनि सबैले चिन्ने प्रचलित नाम हो “लोक्ता” (Lokta)। यस्को बैज्ञानिक नाम Danphane bholua Buch.Ham. ex. D.Don हुन भने यसलाई Daphne cannabina वा Daphne papyracea (डाफ्ने क्यानबेना अथवा डाफ्ने पपायरासिया) भन्ने जंंगली बनस्पतीको नाउबाट पनि चिनिन्छ ।

परंम्परादेखि हाम्रो देशमा नेपाली कागज बनाउन प्रमुख कच्चा पदार्थको रुपमा प्रयोग हुंदै आएको लोक्ता वरुवा प्रजातिको बोट २ दुइ प्रकारको    पाइन्छ:  एउटा कालो लोक्ता (बरुवा) र अर्को सेतो लोक्ता (बरुवा) । कालो लोक्ताको बोट सोझो भएर झांगिन्छ । यसको रंग गुलाबी वा बैजनी खालको हुन्छ र यसको पात ५ से.मी. देखि १० से.मी. सम्म लाम्चा हुनुका साथै टुप्पो बाटुलो वा चुच्चो परेको हुन्छ । त्यस्तै गरी सेतो लाक्ताको बोट चाहिं धेरै हांगा भएर सोझो बढ्ने र यसको रंग सेतो वा हरियो सेतो मिसिएको खालको हुन्छ । यसको पात ५ से.मी. देखि १५ से.मी. सम्म लामो हुन्छ भने यसको पात कालो लोक्ता भन्दा गाढा खालको हुन्छ । यि दुवै किसिमका बोटको उचाइ ४ फिट देखि १० फिट सम्म हुन्छ ।

लोक्ता बनस्पति एक किसिमको सदाबहार र बोटबाट झर्ने वीउ तथा Root Sucker बाट Regenerate हुने प्रकृतिको झाडी (shurb)हो । यो विरुवामा भएको विशेष रसायनिक तत्वले गर्दा आउने एक प्रकारको गन्धले गर्दा प्रायः गाइवस्तुहरुले यसलाई खान नरुचाउंने मात्र नभइ यो विरुवा भएको ठाउंमा अन्य झारपात पनि हुंदैन । लोक्ता झांगिदै जाने प्रजाति भएको र यसको जराको फैलावट धेरै हुने भएको हुनाले यसले माटोलाई समाइ राख्न सक्ने हुंदा यसबाट भूस्खलन, पहिरो आदि रोक्न पनि सहयोगी हुने भै यस्को वातावरणीय महत्व पनि रहेको छ ।

ग्रामीणस्तरमा परंम्परागत तरिकाबाट कम पूंजिमा स्थानीय कच्चा पदार्थ, श्रम, स्रोत र साधनद्धारा नेपाली कागज उत्पादन गरी केही हदसम्म भरपर्दो आय स्रोतबाट हाम्रो देशका पहाडी तथा हिमाली भेगका कृषकहरुले आफनो जीविकोपार्जन गर्दै आइरहेको यो व्यवसायको मुख्य कच्चा पदार्थको रुपमा रहेको लोक्ता बनस्पतिलाई नवीकरणीय स्रोतको रुपमा प्रयोग गर्न तथा लोक्ताको दीगो विकासको लागि निम्न बमोजिमको विधि अपनाई संकलन (कटान) गर्नु उपर्युक्त हुन्छ :

  • लोक्ता बोटको छनौट गर्दा एउटा साधारण अंकुश बनाई सावधानीपूर्वक कम्तीमा २ इन्च मोटाइ भन्दा बढीको मात्र छान्ने, कलिलोे र कम मोटाइको नकाट्ने ।
  • लोक्ता बोटको जमिनबाट १ बित्ता अथवा १० इन्च माथि देखिको बोट मात्र काट्ने, जमिनबाट वा जरा समेत आउने गरी नकात्ने, नउखेल्ने ।
  • लोक्ता संकलन गर्दा आफूलाई उपलव्ध भएको जंगल÷बुट्यानको संम्पूर्ण क्षेत्रलाई पांच भागमा बिभाजन गरी एक बर्षमा एउटा क्षेत्रको लोक्तामात्र काट्ने, अनि अर्को बर्ष पहिलो बर्ष काटेको क्षेत्रलाई छोडेर दोश्रो क्षेत्रको लोक्ता काट्ने त्यसरी नै क्रमैसंग जंगल/बुट्यान विभाजन गरे अनुसार तेश्रो, चौथो र पांचौ बर्षमा लोक्ता काट्ने प्रकृया अपनाउनु पर्छ । यसरी व्यवस्थित ढंगबाट लोक्ता संकलन (कटान) एवम उपयोग गरेमा ५ बर्ष पछि पहिले काटेको ठाउंमा हुर्कने नयां लोक्ताको बोट फेरि कटान गर्न योग्य हुन्छ, जसबाट उद्योगको व्यवसायको लागि आवश्यक पर्ने लोक्ताको आपूर्ति सहजरुपमा निरन्तर प्राप्त भै यसको अभाव नहुने एवम दिगो विकास गर्न समेत मद्दत हुन्छ । साथै नेपाली कागज बनाउन अन्य रेसाजन्य बनस्पतिको प्रयोग गरी मिसावट गर्नमा समेत कमी हुन गै गुणस्तरीय कागजको उत्पादन गर्नमा समेत मदत पुग्ने हुन्छ ।
  • संकलन (काटेको) लोक्ताको बोक्रा आलैमा बाहिरको हरियो भागलाई चक्कु प्रयोग गरी सफासंग तांछेर भित्री काठको भाग बाहेक रेसायुक्त बोक्रा सबै निकाल्नु पर्दछ । त्यस्तै लोक्ता सफा गर्दा निस्केको बोक्राको धूलोबाट बाटेको धूप बनाउन प्रयोग गरिने पातलो नेपाली कागज बनाउन सकिन्छ तसर्थ यस्को बोक्रालाई सुरक्षितसंग राख्नु    पर्दछ ।
  • लोक्ता संकलन (कटान) वा बोक्रा निकाल्दा रेसाबाट कडा खालको वास्ना आउने हुनाले पंजा, आफ्नो नाक मुख छोप्न मास्क, चस्मा लगाउने र रिंगटा नलाग्ने औषधि पनि साथै राख्नुको साथै संभव भएसम्म बुट पनि लगाउनु पर्दछ ।
  • लोक्ताको बोक्रा निकाली सफा गरिसकेपछि बेलाबेलामा उल्ट्याउने पल्ट्याउने गरी राम्ररी घाममा सुकाउनु पर्दछ, नत्र ढुसी परेर कालो हुनगै कागज बनाउंदा कालो दागहरु देखापरी कागजको स्तर बिग्रिन्छ ।
  • लोक्ता संकलन (कटान) को लागि सबैभन्दा अनुकूल समय असोज, कार्तिक र मंसिर महिना हो, तर कतिपय ठाउंमा फागुण, चैत्र र बेशाखमा पनि संकलन गर्ने गरिएको पाइन्छ, जुन लोक्ता संरक्षण तथा विकासको दृष्टिकोणले नगर्दा राम्रो हुन्छ ।

हाल हाम्रो देशमा लोक्ता बनस्पति कच्चा पदार्थ प्रयोग गरी २ (दुई) प्रविधि (तरीका) अपनाई नेपाली कागजको उत्पादन गरिन्छ:
१. परम्परागत प्रविधि  र
२. जापानिज प्रविधि

परम्परगत प्रविधि वा जापानिज प्रविधीबाट कागज बनाउन सबैभन्दा पहिले सफा गरेको सुखा लोक्तालाई तौलेर पानी भित्र राम्ररी डुब्ने गरी २४ घण्टा भिजाउने र भिजेको लोक्तालाई सानो सानो टुक्रागरी पुनः भिजाउने गर्नु पर्दछ, जसबाट लोक्ता नरम हुने र चांडै पाक्ने हुन्छ । लोक्ता पकाउंदा छिटो पाक्ने गर्न पहिले पहिले खरानी प्रयोग गर्ने गरिन्थ्यो भने आजकल खरानीको सटृा कास्टिक सोडाको प्रयोग गर्ने गरेको पाइन्छ । पकाउंदा पहिलो पटक १ के.जि. सुख्खा लोक्ता बराबर १०० ग्राम कास्टिक सोडा पानीमा घोल गरेर राख्नु पर्दछ । पछि त्यही पानीमा पुनः लोक्ता पकाउंदा प्रति के.जि. ५० ग्राम मात्र कास्टिक सोडामात्र हाले पुग्छ । त्यसै गरी पानी पनि नापेर ठिक्क हाल्नु पर्दछ । निश्चित समय अन्दाज गरी फलामको भाडो वा ड्रम वा उचित भांडोमा पकाउने र भांडोको साइज अनुसार लोक्ता राखी साधारण दाउराको चुलो वा सुधारिएको चुल्हो/इलेक्ट्रिक ब्रोवाइलरमा पकाउने । लोक्ता पाक्यो पाकेन भनेर जांच गर्न एउटा सानो भाडामा चिसो पानी राखी त्यसमा पकाइ राखेको लोक्ता निकालेर राख्ने र पकाएको लोक्तालाई विपरीत दिसाबाट तान्दा सजिलैसंग चुडिएमा पाक्यो भन्ने थाहा हुन्छ । सजिलैसंग नचुडिएमा अलिबेर पकाउनु पर्दछ भन्ने बुझ्नु   पर्दछ ।

पसनी पानी (खरानी) अथवा कास्टिक सोडा राखी पकाएको लोक्तालाई सफा पानीले राम्ररी पखाल्नु पर्दछ । रेशा बाहेक कास्टिक र अन्य पदार्थलाई राम्ररी हटाएमा मात्र बलियो र स्तरीय कागज बन्छ । लोक्ता सफा गर्दा धेरै चलाउनु हुंदैन नत्र कामलाग्ने रेशाहरु समेत पानी संगै बगेर जान्छ । लोक्तालाई मसिनो जालिमा राखेर राम्ररी धुनु पर्दछ । पाकेको लोक्ताको रेशालाई कागज बनाउन सकिने रुपमा परिवर्तन गरी लुग्दी तयार गर्न बिजुली बत्तिको पहुंच नभएका ठाउंमा काठको मुंग्रोले हिर्काएर वा कुटेर र बिजुली बत्तीको पहुंच भएको ठाउंमा आजभोली बिटर मेसिनको प्रयोगद्धारा लुग्दी तयार गरिन्छ, जस्लाई विटिंग गर्ने भनिन्छ । बिटिंग गरी तयार गरिएको लुग्दीलाई कुन तौलको कागज बनाउने हो सोही अनुसार निश्चित मात्रामा डल्लो बनाउने वा अन्दाज गरी लिने र त्यसलाई बाल्टिन वा सानो ड्रममा राखि निश्चित मात्रामा पानी मिसाइ घोल बनाई प्लाष्टिकको मगले आवश्यक साइज अनुसारको काठको फ्रेम प्रयोग गरी पानी राखेको भ्याटमा डुवाई कागज बनाई फ्रेम सहित घाममा सुकाईन्छ । यदि बनाइने कागज अलि सेतो बनाउनु छ भने लुग्दीमा ब्लिचिंङ्ख पाउदर मिसाउने पनि गरिन्छ ।

परंम्परागत प्रविधिबाट कागज बनाउन बिटिंग गरी तयार गरिएको लुग्दीलाइनै आफूले कुन तौल अनुसारको कागज तयार (उत्पादन) गर्न लागेको सोही बनाइने कागजको तौल (ग्राम) अनुसार भ्याटमा आवश्यक नुरी याने Polytheism oxidecराखि पानीलाई राम्ररी चलाइ एक÷एक ताउ गरी २०० देखि ३०० ताउको चांग बनाई प्रेस गर्ने मेसिनबाट ७० प्रतिशत जति पानी निचोरे पछि एक/एक ताउ निकाली अलग अलग प्लेन फलामको पाता (जस्ता पाता) मा राखेर धाममा सुकाउने । यसरी नेपाली कागज उत्पादन गर्ने प्रविधिलाई जापानिज प्रविधिका कागज     भनिन्छ । यो प्रविधिबाट कागज बनाउंदा परंम्परागत प्रविधिबाट बनाइने कागजको लागत भन्दा अलि बढि खर्च (लागत) लाग्ने हुन्छ । यस प्रविधिबाट बनाइने कागजमा परंपरागत प्रविधिले बनाएको कागजमा देखिने गरेको राम्रो texture भने नदेखिने हुन्छ तर यसरी बनाइएको कागज मेसिनबाट बनाएको जस्तो साइज मिलि smooth र even पनि देखिने    हुन्छ । तसर्थ आजकल नेपाली कागजमा मेसिनबाट छाप्नु पर्दा वा कम्प्यूटरबाट प्रिन्ट गर्नु पर्दा यस्तो कागजको प्रयोग गर्ने गरेको पाइन्छ ।

नेपाली कागजलाई नेपाल तथा अन्तरराष्ट्रिय बजारमा पहाडी कागज, हाते कागज, लोक्ता पेपर तथा Rice paper आदि बिभिन्न नामबाट भन्ने प्रचलन रहेको छ । नेपाली हाते कागजको साइज सामान्यतया २० इन्च ह ३० इन्चको बनाउने प्रचलन छ । साथै बजारको मांग अनुसार यो साइजको  नेपाली कागज ५ ग्राम, १० ग्राम, २० ग्राम र ४० ग्राम तौल बराबर (प्रति सिट)को बनाउने प्रचलन रहेको छ । बिदेशीहरुले चाहि जापानीज प्रविधिबाट बनाईएका कागज भन्दा परंम्परागत प्रविधिबाट बनेका लोक्ताका नेपाली कागज तथा सोबाट बनेका सामाग्रीहरु बढी रुचाउने गर्दछन  । यसको मुख्य कारण हो लोक्ताबाट बनाइने कागज बलियो, बढी टिकाउ, किराले नखाने र बिशेष टेक्सचर देखिने भएकोले हो । खास भन्ने हो भने लोक्ता कच्चा पदार्थबाट मात्र हैन अन्य धेरै किसिमका रेशाजन्य वनस्पतिबाट पनि कागज बनाउन सकिन्छ तर लोक्ताबाट बन्ने कागज जत्तिको बलियो, टिकाउ नहुने हुंदा लोक्ताबाट बनाईने कागज तथा कागजजन्य बस्तुहरुको बजारमा बढी माग छ । लोक्ताबाट बनेका कागज वा सामग्रीहरु पुनः प्रयोग (Recycle) गर्दा पनि यसको गुणमा कमी नहुने हुन्छ ।

हाल हाम्रो देशमा मझौला र साना गरी करिव १७० वटा नेपाली कागज उत्पादन गर्ने, उक्त कागजबाट विभिन्न कागजजन्य बस्तुहरुमात्र उत्पादन गर्ने तथा कागजजन्य बस्तुहरु उत्पादन गरी निर्यात गर्ने उद्योगहरु संचालनमा रहेका छन् । स्वदेशी कच्चा पदार्थ, श्रम, स्रोत र साधन प्रयोग भै ९० प्रतिशत भन्दा बढी मुल्य अभिबृद्वि रहेको यो व्यवसायमा संलग्न उद्यमी कृषक मजदुरहरु मध्ये ८० प्रतिशत भन्दा बढी महिलाहरुको कुनै कुनै रुपमा संलग्नता रहेको पाइन्छ । तसर्थ नेपाली कागजको व्यवसायलाई महिलामुखी व्यवसाय हो भनेमा पनि कुनै फरक नपर्ला ।

हाल स्वदेशी तथा विदेशी बजारमा नेपाली कागजका ठूला साना सिटहरु, लेटर प्याड वाल पेपर, य्रापिंग पेपर, क्यालेन्डर, नोटबुक, डायरी, ल्याम्प सेड्, फोटो अल्बम, ग्रिटिंग कार्ड, भिजिटिंग कार्ड, फोटो फ्रेम, बक्स, पेपर ब्याग, स्टेसनरी सेट, खाम, फाइल, हाजिरकापी, विभिन्न कार्डहरु, पेपर फर्निचर, बाटेको नेपाली धुप बनाउनमा, सजावटका सामानहरु तथा पेपर ज्वेलरीहरु आदि सामानहरु बढी खपत हुने गरेका छन् । उद्यमीको प्रत्येक उत्पादित बस्तु खरिद गर्ने उपभोक्ताको आवश्यकता पर्दछ । उपभोक्ताले संधैं नवीन बस्तुहरुको चाहना राख्दछ । बर्तमान समयमा सबै उत्पादनहरु उपभोक्तामुखी हुनु जरुरी हुन्छ ।

हाल खासगरी नेपाली हाते कागज तथा उक्त कागजबाट निर्मित सामग्रीहरु पहिले पहिले जस्तै सरकारी निकायहरुमा प्रयोगमा कमि आउनुबाट धेरैजसो नेपाली कागजका उद्योगहरु बजारको कमिको कारण बन्द हुंदै गरेको अवस्थामा बिदेशीहरु लोक्ता बनस्पति कच्चा पदार्थबाट बन्ने नेपाली कागज बलियो, बढी टिकाउ र किराले नखाने र विशेष टेक्स्चर युक्त कागज हुंदा नेपाली कागज तथा सोबाट बनेका स्तरीय सामानहरु प्रति आकर्षित भै उनीहरुको मांग हुन थालेकाले निर्यात व्यापार गरी केही हदसम्म नेपाली कागजको व्यवसायलाइ निरन्तरता दिन सकेका ेछ । नेपाली कागज र कागजबाट बनेका बस्तुहरु स्वदेशी बजारमा खपत भएको र विदेशी पर्यटकहरुले नेपाल भ्रमणको बेला व्यक्तिगतरुपमा स्थानीय बजारबाट खरिद गर्ने गरेको तथा नेपालबाट अन्तरराष्ट्रिय मेला आदिमा आफनो उत्पादित बस्तुहरुको व्यापार विस्तारको लागि लगेका सामग्रीहरुको भएको व्यापार रकम बारे यकिन तथ्यांक उपलव्ध नभएकोले सो बाहेक अन्तरराष्ट्रीय बजारमा नेपालबाट निकासी हुने नेपाली हस्तकलाका प्रमुख निर्यात हुने बस्तु भनी पहिचान दिन सकेको यस नेपाली कागज तथा कागजबाट निर्मित बस्तुहरुको केही बर्षको निर्यात व्यापार निम्न बमोजिम रहेकोछ:

   बर्ष    रकम (ने.रु.मा)
सन् २०१२/१३    ५४,९८,६६,०००।
सन २०१३/१४    ६५,१७,३७,०००।
सन २०१४/१५    ५९,५०,९२,०००।
श्रोतः व्यापर तथा निकासी प्रवर्धन केन्द

यस व्यवसायमा संलग्न उद्यमी व्यवसायीले अन्तराष्ट्रिय बजारको मांग अनुसार बस्तुहरु उत्पादन गरी विक्री गर्नमा बढी जोड दिन थालेको र स्थानीय बजारमा नेपाली उपभोक्ताहरुका लागि आवश्यक पर्ने किसिमका सामग्रीहरुको उत्पादनमा कम ध्यान दिन थालेकोले स्थानीय उपभोक्ताका लागि आकर्षक, उपयोगी र सन्तुष्टि दिने खालका नहुंदा स्थानीय व्यापारमा कमी हुन थालेको छ । स्थानीय बजारको व्यापार बृद्धि गर्न सकेमा मात्र आफनो उत्पादित बस्तुहरुको व्यापारमा स्थिरता ल्याउन सक्ने हुंदा स्थानीय उपभोक्ताहरुका लागि उपयोगी बजार क्षेत्रको विकास गर्ने तर्फ पनि ध्यान राखी विस्तार गर्नु जरुरी हुन्छ ।

त्यस्तै हाल विश्व व्यपारीकरण र नयां सहसताब्दीको प्रभाव स्वरुप प्रत्येक व्यक्तिमा नविन सोच आएको छ । प्रत्येक वस्तुको उपयोगमा मनोबैज्ञानिक सन्तुष्टिले विशेष भूमिका खेल्न थालेको पाइन्छ । एकातिर उपभोक्ताको वस्तुप्रतिको दृष्टिकोणमा व्यापक परिवर्तन आइसकेको छ भने अर्कोतिर उद्यमी व्यवसायीहरुमा पनि बजारीकरणको अवधारणा बिस्तारै विकसित हुन थालेको देखिन्छ । सीमा र अवस्था आआप्mना ठाउंमा ठीक देखिन सक्छन तर समय र आवश्यकता अनुरुप आफनो क्षमता र सिप बिकास गर्न नसकेमा उद्योगहरु जुन अवस्थामा छन् त्यही रहने र उपभोक्ताहरु भने धेरै अघि बढ्ने अवस्था आउन सक्ने यथार्थलाई हामीले नकार्न सकिन्न ।

हाल नेपाली कागज तथा सोबाट बनेका सामग्रीहरु हामीले परंम्परागत तरिकाबाट उत्पादन गर्ने गरेकाले लागत बढ्न गै मुल्य प्रतिस्पर्धा गर्न कठिनाई हुनु, उत्पादनको लागि आधुनिक मेसिनरी औजारहरुको प्रयोगमा नल्याइन्दा स्तरीय बनाउन नसक्नु, नेपाली कागज बनाउन प्रयोग गरिने लोक्ता बनस्पति कच्चा पदार्थको दिगो विकास गर्ने तर्फ प्रयोगकर्ताहरुको चेतनाको कमी एवम सम्वन्धित निकायहरुबाट पनि लोक्ताको बिकास सम्वन्धी कार्यक्रमहरु संचालनमा नल्याइएको हुंदा अन्य विकल्प कच्चा पदार्थहरु प्रयोग गरी कागज उत्पादन गर्न थालेकोले नेपाली कागजको गुणस्तरमा कमी हुनगै हाल अन्तरराष्ट्रीय बजारमा निर्यात व्यापारमा समेत कमी हुन थालेकोछ ।

तसर्थ लोक्ता कच्चापदार्थको दीगो विकास एवम उपलव्धिमा जोड दीइ परम्परागत रुपमा आर्जित नेपाली हस्तकला शिपलाई परिमार्जित गरी नयां नया प्रविधि, उपकरणहरुको प्रयोगद्धारा स्वदेशी तथा विदेशीको चाहना अनुसार स्तरीय बस्तुहरुको उत्पादन गरी बजार विस्तार गर्नु आजको आवश्यकता एवम जरुरी छ भन्ने कुरा यस व्यवसायमा संलग्न सबैले महशुस गरी कार्यान्वयनमा ल्याउनु अपरिहार्य भैसकेको छ ।

नोट: प्रस्तुत लेख वन सञ्चार द्धैमासिक (असार-श्रावण २०७३)मा प्रकाशित गरिएको हो । सान्दर्भिक भएको हुनाले यस अनलाइनमा प्रकाशन गरिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *