Breaking News

सामुदायिक वन र सामुदायिक रेडियो

झपेन्द्र बहादुर जी.सि., पूर्वसभापति जिल्ला विकास समिति, पाल्पा, सभापति, सामुदायिक रेडियो मदन पोखरा
झपेन्द्र बहादुर जी.सि., पूर्वसभापति जिल्ला विकास समिति, पाल्पा, सभापति, सामुदायिक रेडियो मदन पोखरा

आज यहाँ सामुदायिक वन र सामुदायिक संचारको महत्व अन्तरसम्वन्ध र विशेषताबारे केही भाबना, अवधारणा प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु । समुदाय भनेको भिन्न भिन्न भाषा,आस्था, धर्म संस्कृति रीतिरिवाज परम्परामा आधारित र निश्चित क्षेत्र, इलाका वा टोलमा बसोबास गर्ने नरनारीको समूह हो । यसरी भिन्न भिन्न आस्थामा भए पनि स्थान विशेषमा बसोबास गर्नेहरुका वीचमा एउटा निश्चित साझा उद्देश्य रहेको हुन्छ  र सो उद्देश्य परिपूर्तिका लागि उनीहरु संगठित तरिकाले लागेका हुन्छन् । आदिम प्रारम्भिक वन्य अवस्थामा पनि प्रकृति र हिस्रक जनावरसँग प्रतिरक्षा गर्नका लागि मानव जातिले आफ्नो गण समुदायको झुण्ड बनाएर बस्ने गरेको कुरा सामाजशास्त्री र मानवशास्त्रीहरुले सोध अनुसन्धान गरेर हामीलाई बताउँदै आएका छन् ।

वर्तमान समयमा पनि आफ्नो निश्चित स्थानमा रहेका मानव जातिले आफ्नो हित कल्याण र आफ्नो क्षेत्रको भौतिक विकास र सामाजिक विकासका लागि संगठित तरिकाले लाग्ने परम्परा कायमै छ । आफ्नो क्षेत्रको व्यवसायिक प्रगति, जैविक विविधताको संरक्षण, जल जङ्गल जडीबुटी र जमिनको यथोचित संरक्षण र सदुपयोग गर्नुपर्छ  भन्ने भाबनाले वस्ती वस्तीमा विभिन्न जाति जनजातिहरु संगठित तरिकाले लागेको पाइन्छ । जहाँ साझा उद्देश्य प्राप्तिका लागि मानव समुदाय  संगठित तरिकाले लागेका हुन्छन् त्यहा दिगो विकासको पनि सम्भाबना रहेको हुन्छ किन कि समुदाय भनेकै शक्ति हो । त्यो सामुदायिक शक्तिले असम्भव कुरा पनि सम्भव गराउँछ । भन्ने कुरा नेपालको सामुदायिक वन व्यवस्थापनले पुष्टि गरेको छ ।

हाम्रो देशमा २००७ सालमा प्रजातन्त्र आए पनि प्रजातन्त्रले दिगो रुप लिन सकेन र २०१७ सालमा  शाही कु पछि निर्दलीय पञ्चायती व्यवस्था लागू गरियो । पञ्चायती व्यवस्था भनेको केन्द्रबाट लादिएको कार्य गर्ने व्यवस्था थियो ।यहीवाट  विकास निर्माण लगायत समग्र भौतिक निर्माण केन्द्रीय निर्देशन अरन खटनमा गर्ने परम्परा शुरु भयो । वनजङ्गल संरक्षणका लागि वनपाले राख्ने व्यवस्था लागु भए पनि देशका अधिकांश भागका वन जङ्गल संरक्षण हुन सकेन ।

हरियो वन वन नेपालको धन भनिए पनि त्यो वन्य धन चोर, फटाहा, तस्करहरुको धन हुन गएकोले वन बिनाश भयो । हिंसक वन्य जन्तु र पशुपन्छीको वासस्थान रहेको घना वनजङ्गलहरु नाङगो डाँडा र उराठ लाग्दो अवस्थामा पुगे । पानीको मुहानहरु सुक्न थाले । र वन जङ्गल मासिए पछि पानीको मुहान सुक्ने,पहिरो जाने र भू–क्षय हुने अवस्था आयो, ओराली झरेको चाँचर, रानीकुवा सुकेर कहा छ र ? भन्ने  लोकभाकाहरु गाउन, सुनीन थाले , वन बिनाशको यो महत्वपूर्ण सूचक थियो । यस क्रममा वन हाम्रो सम्पति हो, स्थानीय जनताको सम्पति हो भन्ने सोचका साथ  मानिसहरुमा संगठित तरिकाले आफ्नो वन आफैले संरक्षण गर्नुपर्छ  भन्ने भाबना जाग्न थाल्यो । यस क्रममामा पाल्पाको मदनपोखरा गाउँमा वन जङ्गल संरक्षण गर्न सरकारको मुख नताकी आफ्नै प्रयासबाट थालनी गरे । यस क्रममा हेर्दा मदनपोखराको मूल गैरा वन ,शिखर डाँडा र ढोलेनी डाँडा वनलाई उदाहरणको रुपमा लिन सकिन्छ । समुदायले वनलाई जथाभावी प्रयोग गरे कार्वाही गर्ने, जरिवाना गर्ने नियम बनाए ।

आफैले बनाएका नियमलाई आफैले लागू गर्न थाले । जसका कारण वन बोट विरुवा पलाएर हरियाली  छायो, मुलहरु सर्सिन थाले । जङ्गलमा पशुपन्छी कराउन थाले रमाइलो अनुभूति भयो । यो प्रयास २०२१÷२२ साल तिरबाट मदनपोखरेली जनताले थालनी  गरेका थिए । सरकारले प्रयास गरी वन संरक्षण हुन नसक्ने तर समुदायको आफ्नै प्रयासमा वन संरक्षणमा पाल्पा सक्षम भएको देखेर तत्कालिन नेपाल सरकारले सामुदायिक वन संरक्षणको नीति वि.सं. २०३३ तिर वन विकास योजना २०३३ वाट अगाडि ल्यायो । यस मानेमा सामुदायिक वन संरक्षणको अवधारणा विकास गर्न मदनपोखराले अग्रदुतको भूमिका निर्वाह गरेको छ । अहिले हाम्रो देश सामुदायिक वनमय भएको छ । नेपालले हासिल गरेको सफलताहरुमध्ये उदाहरण के हो भन्ने प्रश्न गर्ने हो भने उत्तरमा –सामुदायिक वन भन्ने उत्तर सहजै दिन सकिन्छ ।

सामुदायिक वनमा नेपालले अन्र्तराष्ट्रमै उदाहरण प्रस्तुत गरेको छ । हाल नेपालमा देशभर आ.व ०७१।०७२ को अन्त्यसम्ममा १८,९६० वटा सामुदायिक वन रहेका छन् । पाल्पा जिल्लामा मात्रै ६५४वटा भन्दा वढी सामुदायिक वन रहेका छन् । यसबाट के पुष्टि हुन्छ भने जहाँ जुन ठाँउमा समुदायको नेतृत्व, सामुदायिक स्वामित्व र सामुदायिक लोकतान्त्रिक निर्णय हुन्छ , त्यहाँ सार्वजनिक सम्पतिको संरक्षण र विकास हुन्छ । भन्ने यो एउटा गतिलो उदाहरण हो ।

यसरी नै सु–सूचित हुनु जनताको अधिकार हो । राज्यको निर्देशित सूचनाले मात्र देशमा समग्र विकास संभव छैन । एउटा गाउँको सफल कथा अर्को गाउँमा ,एउटा व्यक्तिको सफलताको कथा अर्को व्यक्तिमा, एउटा समुदायको सफलताको कथा अर्को समुदायमा प्रसारण गर्नुलाई सामुदायिक संचार भनिन्छ । सुचना शक्ति हो । सुसूचित समुदायले समग्र विकास गर्न सक्छन् । सूचना एकोहोरो (one way communication) होइन दोहोरो सूचना प्रणाली (Both way communication) हुनुपर्छ । यह िभाबनालाई आत्मसाथ गरेर पाल्पा जिल्लाको मदनपोखरामा सामुदायिक संचार विकासको आधार  भन्ने अवधारणाका साथ सामुदायिक रेडियो मदनपोखरा स्थापना गर्न मदनपोखरेली जनता २०५२ सालदेखि जुरमुराए ।

पाल्पाली जनसमुदायले सघाए र साझेदार बने। जसको फलस्वरुप उपत्यका बाहिर सर्वप्रथम २०५५ साल चैत्र २३ गते देखि सामुदायिक रेडियो मदनपोखरा संचालनमा आयो र पाल्पाली समुदाय दङदास पनि भए र खुसी भए । खेतबारीमा फलेको ठुलो मुला ,गोठमा पाएिको दुधालु गाई भैँसी र ठुला वंगुरको कथा सुचना वनेर प्रसारणमा  आयो र ए लौ समाचार भनेका राजा महाराजा र प्रधानमन्त्री र मन्त्रीको मात्र नभै स्थानीय  जनताको सीप ,भूमिका, पेसा व्यवसायको पनि हुदो रहेछ भन्ने जनताले बुझ्न थाले । समुदायले हाम्रो रेडियो राम्रो रेडियो भनेर अनुभूति गरे । सामुदायिक रेडियो हाम्रो ,सुन्दर समाज बनाउने मन हाम्रो भनेर गीत गुन्जन थाल्यो ।

 सामुदायिक रेडियो मदनपोखरा उपत्यकामा संचालित रेडियो सगरमाथाको संचालन संगै स्थापित र संचालित हो र मदनपोखरा गाउँको डाँडामा खुलेको रेडियो संचालनको कार्य विधि र व्यवस्थापन हेर्न कंचनपुर देखि झापा ताप्लेजुङसम्मका मानिसहरु आए, सिके बुझे गएर आ–आफ्नो जिल्ला गाउँमा सामुदायिक रेडियो स्थापना गर्न थाले । पहिले रेडियो नेपालमा मात्र सूचना मनोरञ्जनका लागि भर पर्ने नेपाली जनसमुदायले आफ्नै गाउँ ठाउँमा सामुदायिक रेडियो खोले र सुन्न र वोल्न थाले र यस क्रममा ७०० भन्दा वढी एफ.एम रेडियोहरु गाउँ सहरमा स्थापित र संचालित छन् । ती धेरैको सामुदायिक चरित्र छन् ।

दिगो विकास सामुदायिक संगठन :

यो अहिलेको युग लोकतान्त्रिक युग हो । माथिबाट थोपरिएको कुरा स्वीकार्य  छैन, ग्राहय छैन । दिगो, भरपर्दो र विश्वासिलो पनि हुन सक्दैन त्यसैले हाम्रो देशको  समग्र विकासको लागि जनकेन्द्रीत र समुदायकेन्द्रित विकासमा जोड दिनुपर्छ ।स्थानीय समुदाय र त्यसको नेता स्वामी, सहभागी, श्रोता र उपभोक्ता हुन पाउनुपर्छ । यो नै लोकतन्त्र हो । नेपालले गणतान्त्रिक अभ्यास गरिसकेको हुँदा राज्य नियन्त्रित र राज्यकेन्द्रित होइन , सामुदाय नियन्त्रित र समुदाय केन्द्रित विकास योजना लागू हुनुपर्छ ।

सामुदायिक वन व्यवस्थापन र सामुदायिक संचार ब्यवस्थापनले जुन सफलता पाएको छ, त्यसवाट राज्यले सिक्नु पर्छ । कहिले काहि सामुदायिक वन र सामुदायिक संचार राम्ररी संचालन हुन सकेन, चुहावट र भ्रष्टचार भयो, साधन स्रोतको अभाव भयो भन्ने गुनासा पनि सुनिन्छन् । सामुदायिक विकास प्रणालीमा असफलता हुनै सक्दैन र जहाँ समुदायको सहभागिता , नेतृत्व र सामुदायिक व्यवस्थापनमा कार्यहरु संचालन गरिन्छ । त्यहा साधन स्रोतको अभाव र चुहावट हुनै सक्दैन ।यदि त्यस्तो कही देखिन्छ भने त्यहाँ समुदाय परिचालनमा अवश्य खोट छ भनेर वुझे हुन्छ । किन कि सामुदायिक संगठन र व्यवस्थापनले असफलता वेहोर्नु पदैन । यो ध्रुव सत्य हो । आदिम जङगली मानव समुदाय गण समुदायमा संगठित हुने प्रयास स्वरुप अघि बढ्दै जाँदा आधुनिक विश्व मानव समाज बनेको हो । संघे शक्ति, कलौ युगे अर्थात संघमा नै शक्ति हुन्छ भन्ने कुरालाई ह्दयंगम गरौँ । सामुदायिक वन व्यवस्थापन र सामुदायिक संचारको नङ् र मासुको सम्वन्ध छ र यिनीहरुले सफलताको उदाहरण प्रस्तुत गरिरहेकाले सबैले अव समुदायबाट सिक्ने प्रण गर्नु प¥यो ।

नोट : प्रस्तुत लेख वन सञ्चार द्धैमासिकको अंक ७ मा प्रकाशन गरिएको हो । सान्दर्भिक भएको हुनाले यस अनलाइनमा पनि प्रकाशन गरिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *