Breaking News

पुनःनिर्माणका लागि काठ चिरान गरिँदै

काठमाडौं,कात्तिक १० । वन तथा भू–संरक्षण मन्त्रालयले भूकम्पपछिको पुनःनिर्माणमा आवश्यक पर्ने काठ उपलब्ध गराउन काठ चिरान गर्ने तयारी सुरु गरेको छ ।  मन्त्रालय मातहतको द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडले गत आर्थिक वर्षमा उत्पादित गोलिया काठमध्ये जिल्ला वन कार्यालयका समूहलाई बाँडफाँड भई बाँकी रहेको गोलिया काठ चिरान गर्ने जनाएको छ ।

वनमन्त्री शङ्कर भण्डारीले टिम्बर कर्पाेरेसनमा स्थलगत अवलोकन गरी भूकम्प प्रभावित जनतालाई काठ उपलब्ध गराउने कार्यमा कुनै कमी आउन नदिन निर्देशन दिनुभएको छ । उहाँले पुनःनिर्माण पहिलो प्राथमिकता भएको भन्दै उक्त कार्यमा टिम्बरलाई मन्त्रालयका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला शाखा कार्यालयअन्तर्गत नौवटा समिल सञ्चालन गरी चिरान उत्पादन गर्ने कार्य अन्तिम चरणमा रहेको टिम्बर कर्पोरेसनका महाप्रबन्धक वीरेन्द्रकुमार यादवले बताउनुभयो । उत्पादित चिरान काठमध्ये स्थानीय आपूर्तिका साथै भूकम्प प्रभावित एवम् राष्ट्रिय सम्पदा पुनःनिर्माणका लागि छुट्याइनेछ ।
सरकारले राष्ट्रिय महत्वका पुरातात्विक धरोहरको पुनःनिर्माणका लागि पनि आवश्यक काठ निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रालयले पुनःनिर्माणका लागि आवश्यक पर्ने काठको बारेमा विस्तृत अध्ययन गरी तथ्याङ्क राख्न सहसचिवको नेतृत्वमा छुट्टै एकाइ समेत गठन गरी काम सुरु गरिसकेको छ ।
विसं २०१७ मा तत्कालीन कम्पनी कानुनअन्तर्गत ‘द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ पूर्ण सरकारी संस्थाको रुपमा गठन भई हालसम्म काठ, दाउरा सङ्कलन तथा बिक्री वितरणको कार्य गर्दै आइरहेको छ । टिम्बरले आव २०७२-७३ मा सङ्कलित काठमध्ये हाल पाँच लाख ७२ हजार ४०८ क्युफिट गोलिया काठ मौज्दात रहेको जनाएको छ ।
महाप्रबन्धक यादवले पुनःनिर्माणका लागि चिरान काठ आपूर्ति गर्नुपर्ने भएकाले सरकारद्वारा व्यवस्थित राष्ट्रिय वन, साझेदारी वन व्यवस्थापन समूह, सरकारको प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्दा काठ दाउरा सङ्कलन उत्पादनका लागि कर्पोरेसनमार्फत हुने नीतिगत व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो ।
कर्पोरेसनले तराई, भित्री मधेस तथा पहाडी जिल्ला गरी ३४ जिल्लामा कार्य गरी रहेको छ । टिम्बरले उत्पादित गोलिया काठमध्ये ५० प्रतिशत गोलिया काठ चिरान गरी सर्वसाधारण जनतालाई घरकाज (घर निर्माण, मर्मत आदि) प्रयोजनका लागि डिपोमार्फत खुद्रा बिक्री वितरण गर्दै आएको छ । मन्त्रालयले वन विभागमार्फत हालसम्म भूकम्प प्रभावित १५ जिल्लाका जनतालाई करिब पाँच लाख क्युफिटभन्दा बढी काठ वितरण गरेको जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *