Breaking News

वन पैदावार व्यवसायीसंघ भक्तपुर जिल्लाका अध्यक्ष श्री गणेशहरी प्रजापतिसंग वन सञ्चारका सह–सम्पादक नवराज ज्ञवालीले गरिएको कुराकानी

) तपाईको सामान्य परिचय बताई दिनुहोस् न ।

मेरो नाम गणेश हरी प्रजापती हो । मेरो घर भक्तपुर जिल्ला मध्यपुर ठिमी नपा वार्ड न ८ मिलरोड बोडेमा मा पर्दछ । म काठ व्यवसायी हुं । मेरा बुवा गणेश बहादुर प्रजापती काठ व्यवसायी भएको कारणले मैले पनि यही पेसालाई नै २०४० साल देखि नै निरन्तरता दिंदै आएको छु । शुरुमा मेरो व्यवसायको नाम एच फोर ईन्टरप्राईजेज थियो । अहिले ग्रीन बोर्ड सःमिल मिलरोड बोडेमा सञ्चालित छ र म शंकरदेव क्याम्पसमा प्रविण प्रमाण पत्र तह अध्ययन गर्दा गर्दै यो पेसामा संलग्न भएको हुं । म अहिले भक्तपुर वन व्यवसायी संघमा मिति २०७६ ÷०४ ÷१७ निर्विरोध निर्वाचित भई अध्यक्ष पदमा कार्यरत छु

2)  तपांई अहिले वन पैदावार व्यवसायीसंघ भक्तपुर जिल्लाका अध्यक्षमा निर्वाचित हुनु भएको छ अव तपाईको योजना के छ त ?
नेपालमा वनमा आधारीत उद्योग व्यवसायहरु धेरै छन् तर भक्तपुर जिल्लामा भने धेरै काष्ठ व्यवसायी छौं । जुन व्यवसाय भए पनि हाम्रो उद्देश्य सबै व्यवसायीहरु एकताबद्ध भई आफ्नो हकहितका बारेमा बहस पैरवी गर्ने, वन र वातावरण संरक्षण गर्ने र अर्को तर्फ व्यवसाय सञ्चालन गर्ने क्रममा कानुनी कठिनाई भएमा सरकारलाई नीतिगत सुधारमा सहयोग गर्ने र कार्यान्वयनमा सहजीकरण गर्ने हो । विकसित देशहरुमा आधुनिक प्रविधिको प्रयोग गरि वनमा आधारित कच्चा पदार्थको प्रयोगबाट अधिकतम सामान उत्पादन गरि हाम्रै देशमा हामीले उत्पादन गर्ने भन्दा सस्तो मुल्यमा सामान निर्यात गरिरहेका छन् हामी त्यही समान आयात गरिरहेका छौं । ठुलो प्रविधि ल्याउन हामीसंग एक पुंजी छैन र अर्को तर्फ प्राविधिक पनि छैनन् । हामी नेपाल सरकारसंग यो चाहन्छौं कि आधुनिक प्रविधि, तालिमप्राप्त प्राविधिकको पुर्तिहोस् सबै कुरामा बिदेशमै भर पर्न नपरोस् । हामीहरुसंग पर्याप्त मात्रामा कच्चा पदार्थ छ तर प्रयोग गर्ने ज्ञान र सीपको कमी छ । हामीसंग भएको वनबाट उत्पादित कच्चा पदार्थबाट बिज्ञहरुको सल्लाह र सहयोग लिई आधुनिक प्रविधिको प्रयोग गरि बढी भन्दा बढी सामान उत्पादन गर्ने र नेपालमा रहेको युवाहरुलाई सिपयुक्त बनाई रोजगार दिलाउनु र नेपालमै उत्पादित सामान सस्तो र सुलभ दरमा पुर्ति गर्नु हाम्रो उद्देश्य हो ।
३) विद्यमान वन ऐन नियम अनुसार काष्ठ व्यवसाय सञ्चालन गर्न सरल वा कठिन के छ ?
ऐन नियम विना त केही काम गर्न मिल्दैन तै पनि नेपालमा पर्याप्त मात्रामा कच्चा पदार्थ हुंदाहुंदै पनि संकलन गर्ने सहज नियम छैन वन जंगलमा रुखहरु ढलेर कुहिराखेका छन् । वैज्ञानिक वन व्यवस्थापन अनुसार ढला पडालाई प्रयोग गर्ने भनिन्छ तर त्यो हुन सकेको छैन । जंगलमा सालका रुखहरु ढलेर कुहिएका छन । कुनै पनि बिरुवा अजम्बरी हुंदैन त्यसैले बुढो रुखको प्रयोग गर्ने र नयांको संरक्षण गर्ने नियम हुनु पर्छ र हामी संरक्षण गर्न परमकर्तव्य सम्झि व्यवहारमा देखाउनु पर्दछ । सःमिल सम्म काठ ल्याउन नै धेरै नियम कानुन प्रयोग हुन्छ अनि समय बढि लाग्छ । निजी वन दर्ता गरी व्यवसाय गर्ने नियम बनेको छ तर जसरी हामी खेतमा रोपेको धान काटि घरमा ल्याउने सहजता छ तर त्यही जग्गामा लगाएको सालको रुख बुढो भए पनि सहज तरिकाले काट्ने नियम छैन । यसमा सरकारले ध्यान दिनु पर्ने देखिन्छ । यदि निजी वनलाई प्रोत्साहन गर्दै गयौं र आफुले लगाएको रुख समय अनुसार प्रयोग गर्न पाएमा यसमा धेरैको आकर्षण बढ्ने छ मलाई आशा छ युवाहरु बिदेश पलायन हुने क्रम पनि केहि हद सम्म घट्ने छ ।

४) नेपालको ४४ प्रतिशत जमिन वन जंगलले ढाकेको छ तर पनि नेपालमा विदेशबाट काठ आयात किन भई रहेको छ ?
मैले माथि नै भनिसकेको छु । नेपालमा काठ बाहेक अन्य कच्चा पदार्थ प्रयोग गरि फर्निचर बनाउने प्रविधिको शुरुवात भएको छैन । फर्निचर बनाउंदा बचेका काठका टुक्रा केबल आगो बाल्न मात्र प्रयोग गरिन्छ तर विदेशमा काठका साना साना टुक्रा धुलो, पात पतिङगर प्रयोग गरि फर्निचर बनाईन्छ , आधुनिक प्रविधिको प्रयोग गरिन्छ दक्ष जन शक्तिको प्रयोग हुन्छ अनि सामान पनि सस्तो उत्पादन हुन्छ । कानुन पनि सहज होला । सबै काममा मेशिनको प्रयोग गरिन्छ । नेपालमा सबै जंगलको छेउछाउमा मोटर बाटो पनि पुगेको छैन् । मानिसले मात्र काम गर्दा ज्याला मंहगो भै काठ मंहगो हुन जान्छ । नेपालको कानुन अनुसार काम गर्न प्रोत्सहन गर्ने कानुन हुनुपर्छ । नेपालमा वन जंगलको संरक्षण मात्र गर्ने भन्ने सोच छ तर उपभोग र संरक्षण दुबै हुनु पर्दछ ।

५) काठको वैकल्पिक वस्तुहरु प्लाष्टिकका सामान र आल्मुनियमको प्रयोगले काठ व्यवसायलाई असर पारेको छ कि छैन् ?
समय परिस्थिति अनुसार बैकल्पिक बस्तुको प्रयोग हुनु समस्या देख्नु हुंदैन । पहिले काठको सामान प्रयोग हुने ठाउंमा अहिले प्लाष्टिकका सामान प्रयोग भएका छन् कुर्ची टेबलहरु अन्य धेरै सामान प्लाष्टिकका उत्पादन भई रहेका छन् । काठको सट्टामा आल्मुनियमको प्रयोग भइरहेको छ । तर समस्याको कुरा यो हो कि बिदेशी सामान प्रयोग गर्दा नेपाली मुद्रा बिदेशीनु व्यपार घाटा बढ्दै जानु नेपालमा भएको कच्चा पदार्थ सडेर कुहिएर जानु चिन्ताको बिषय हो । अनि प्रयोग भएका बस्तुहरु सकभर वातावरण मैत्रि हुनु पर्दछ । जति काठको सामान वातावरण मैत्रि हुन्छ त्यसको तुलनामा प्लाष्टिक र आन्मुनियम हुंदैन । यदि हाम्रै देशको सामान प्रयोग भएमा रोजगार बढ्दै जान्छ । मानिस रोजगारमा व्यस्त भएमा देश शान्त र समृद्ध बन्न केहि हद सम्म सहयोग मिल्न सक्छ ।

Related posts